नारायणी नदी पसेपछि सुस्ताका आधाभन्दा बढी घर डुबानमा
महिला, बालबालिका, बृद्ध तथा असहायहरु लाई नारायणी नदी वारी सुस्ता ५ मै रहेको वीपि मा.वि.बलिनगरमा ल्याउने तयारी
नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ सुस्तामा आधाभन्दा बढी घर डुबानमा परेको छ । नारायणी नदीमा आएको बाढी सुस्ता पसेपछि सुस्तामा डुबान गराएको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालले बताउनु भएको छ ।
लगातार परेको अविरल वर्षाले शुक्रवार दिउसो देखि नै सुस्तामा बाढी पस्न सुरु भएको प्रवक्ता जैसवाले भन्नुभएको छ । उहाँका अनुसार सुस्तामा २ सय २० घरधुरी रहेको छ । जस्मा केही घर बाहेक लगभाग सबै घरमा बाढी पसेको छ । सुस्ताको थारु टोलमा सबै भन्दा पहिला बाढी पसेको उहाँले भन्नुभयो ।
सुस्तामा पानी पस्न सुरु भएलगतै विपद् उदरका लागि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले बताउनु भएको छ । बाढी पसेको घरपरिवारलाई सुस्ता मै रहेको आश्रय स्थलमा राखिएको उहाँले भन्नुभयो । नारायणी नदीमा पानीको सतह निरन्तर बढने क्रम जारिरहेकोले सुस्तामा रहेका महिला, बालबालिका, बृद्ध तथा असहायहरु लाई नारायणी नदी वारी सुस्ता ५ मै रहेको वीपि मा.वि.बलिनगरमा ल्याउने तयारी भइरहेको उहाँले बताउनु भएको छ । जसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको उहाँले भन्नुभयो ।
अहिलेसम्म बाढीबाट डुबानमा परेको २९ जनालाई सशस्त्र प्रहरी बलले उद्धार गरि सुरक्षित स्थानमा पठाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गणका प्रमुख (एसपी) गोविन्द बहादुर खातीले बताउनु भएको छ ।
बाढी पसेपछि पक्की घरबाहेक कच्ची घर (खरपात तथा माटोले बनेको घर) मा क्षति धेरै भएको सुस्ताका स्थानीय मुन्सी कुमार हरिजनले बताउनु भएको छ । सुस्तामा अधिकांश घर कच्ची नै रहेको छ । ती घर परिवारले केही समानलाई लिएर आश्रय स्थल तर्फ गएका छन् भने केही बाढीले क्षति भएको छ ।
नारायणी नदीमा यो वर्षकै सबै भन्दा ठुलो पानी आएको मापन गरिएको छ । गण्डक वराज बाल्मीकिनगरका अनुसार नारायणी नदीमा अहिले २ लाख ८० हजार क्यूसेक पानी पुगेको छ ।
सम्बन्धित समाचार
बाढी पसेपछि सुस्ताका ७८ घरपरिवार सुरक्षित स्थानमा सारिए
नारायणी नदीको कटान सुस्ताको बस्ती नजिक पुग्यो
सुस्ताका ८५ बाढी प्रभावित घरपरिवारलाई राहत वितरण
नारायणीकाे पानी सुस्ताको थारु टोलमा पस्यो
कार्तिक २३, २०८३