नारायणी नदीको कटान सुस्ताको बस्ती नजिक पुग्यो
नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ सुस्तामा नारायणी नदीको निरन्तर कटान सुस्ताको थारु बस्ती नजिक पुगेको छ ।
सुस्ताका स्थानीय मुन्सी कुमार हरिजनका अनुसार नारायणी नदीको निरन्तर कटानले थारु बस्ती पुग्न ५० मिटर मात्रै बाँकी रहेको छ । उहाँले भन्नुभयो, “सुस्तामा अस्थायी बाँध निर्माणको कार्य निरन्तर भएपनि नारायाणी नदीको कटान बस्ती नजिक पुगेको छ । मैले लगाएको १० कठ्ठाको उँखु बाली ८ कठ्ठा नारायणी नदीले कटान गरेर नदीमा मिसाइ सकेको छ र्। म’ सहित दर्जनभन्दा बढी किसानकोे धान, उँखु र केरा बाली लगायत करिब १५ विगहा क्षेत्रफल नारायणीले कटान गरिसकेको छ ।”
अब पनि कटान रोकिएन भने अबको केहि दिनमा नारायणीले सुस्ताको थारु टोल नै कटान गर्ने स्थानीय हरिजनले बताउनु भयो । थारु टोलका केही स्थानीयहरु सुस्तामा रहेको सामुदायिक भवनको सहारा लिएर बस्दै आएका छन् ।

नारायणीले सिमा मानिएको सिमल(रुख) बगायो
त्यस्तै नेपाल–भारतबीच सुस्तामा सिमा स्तम्भको रुपमा सिमा मानिएको सिमलको रुखलाई पनि नारायणी नदीको भेलले बगाएको छ ।
नारायणी नदीको निरन्तर कटानले नेपाल–भारत दुइ देशबीच सिमाको चिन्ह मानिएको सिमल अब नरहेको सुस्ता बचाउ अभियानका प्रवक्ता एवं स्थानीय रविन्द्र जैसवालले बताउनु भएको छ । उहाँले भन्नुभयो, नेपालको सुस्ता र भारतको विहार राज्य विचको सिमानाकामा जंगे पिलर (सिमा स्तम्भ) नभएपछि त्यहाँ रहेको ठुलो सिमलको रुखलाई सिमाको चिन्ह मानिएको थियो । तर उक्त सिमललाई पनि नारायणीको भेलले बगाएको छ ।
सिमललाई लामो समयदेखि सुस्तामा पिलर मानिएको थियो । त्यहाँ कुनै पनि सिमा स्तम्भ (पिलर) नभएपछि सिमल नै सिमा बनेको थियो । तर नारायणीको लगातारको कटानले सिमा नै बगाएको प्रवक्ता जैसवालले बताउनु भयो । सिमा त बगायो तर सुस्ता भूमि जोगाउन हामि निरन्तर प्रयासमा रहेको उहाँले भन्नुभयो ।
सुस्तालाई जोगाउनका लागि सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुर चितवनले गत वर्ष साढे ११ करोडमा १ किलोमिटर तटबन्ध (बाँध) निर्माण गरेको आयोजनाका इन्जिनियर बेलबहादुर विश्वकर्माले बताउनु भएको छ । सोही ठाउँलाई जोडेर यो वर्ष पनि १ करोड ४६ लाखको लागतमा १३२ मिटर तटबन्ध निर्माणको काम सुरु गर्ने योजना थियो । तर त्यहाँ सिमा समस्याले काम रोकिएर अहिले पुरै कटान भइरहेको उहाँले बताउनु भएको छ ।
उहाँले भन्नुभयो, “नारायणी नदीको भेलबाट बस्ती कटान रोक्न हामि सक्दो प्रयासमा छौं । अस्थायी बाँध निर्माणका कार्य दिनहु भइरहेको छ । म आँफु पनि कार्य स्थलमै खटेर काममा सहयोग गरिरहेको छु । तर अब कतिको सफल हुने हो भन्ने कुरा रहेको छ ।”
अस्थायी बाँध निर्माणका लागि तारजाली, बोरोमा बालु तथा माटो र प्रकोप पाइन( आरसीसी ढलान पिलर) को प्रयोग भइरहेको आयोजना इन्जिनियर विश्वकर्माले बताउनु भएको छ
सम्बन्धित समाचार
नारायणी नदी पसेपछि सुस्ताका आधाभन्दा बढी घर डुबानमा
बाढी पसेपछि सुस्ताका ७८ घरपरिवार सुरक्षित स्थानमा सारिए
सुस्ताका ८५ बाढी प्रभावित घरपरिवारलाई राहत वितरण
नारायणीकाे पानी सुस्ताको थारु टोलमा पस्यो
कार्तिक २३, २०८३