सुस्तामा रोकिएन बाँध कटान, सुस्ताबासी चिन्तित
नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीले बाँध निमाणलाई कटान सुरु गरेपछि स्थानीय चिन्तित बनेका छन् ।
सुस्ता गाउँपालिका–५ सुस्तामा नारायाणी नदीको पानी पस्न नदिनका लागि बाँध निर्माण गरिएको छ । तर नदीको तिव्र बहावले बाँधलाई कटान सुरु गरेपछि स्थानीयहरु सुस्ता जोगाउनका लागि अस्थायी बाँध निर्माण गरिरहेको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालले बताउनु भएको छ । साउन १७ गते सुस्ताबासीले अस्थायी बाँध निर्माण गर्दा भारतीय प्रहरी एसएसबीले अवरोध गर्नुका साथै भत्काएको पनि थियो । पछि फेरी सुस्ताबासीले त्यो बाँधलाई निर्माण गरेपनि हिजोराती देखि नारायणी नदीको तिव्र वहावले कटान सुरु गरेको जैसवालले भन्नुभयो ।
सुस्ताका नागरिकले हप्तादिनदेखी नारायणी नदीको पानीलाई सुस्तामा पस्न नदिन बोरामा बालुवा, तारजाली, माटो, खरपात लगायले अस्थायी बाँध निर्माण गरि रोक्ने प्रयासमा रहेका छन् ।
सुस्तालाई नारायणीको जोखिमबाट जोगाउन सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुर चितवनले पहिलो चरणमा साढे ११ करोडको लागतमा करीब एक किलोमिट तटबन्धन निर्माण गरेको साइट इन्जिनियर बेलबहादुर विश्वकर्माले बताउनु भएको छ । सोही ठाउँबाट जोडेर दोस्रो चरणअन्र्तगन थप १ करोड ४६ लाखको लागतमा आयोजनाले १३२ मिटर तटबन्धनको काम सुरु गर्ने योजना थियो । तर भारतीय प्रहरी एसएसबीको हस्तक्षेपले निर्माण कार्य रोकिएको उहाँले भन्नुभयो । अहिले सुस्तामा सोहि ठाउँमा नारायणीको पानीले कटान गरिरहेको छ ।
कार्तिक २३, २०८३