भिडले जोखिममा सुस्ता झोलुङ्गे पुल
नवलपरासी, वैशाख १५ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ स्थित सुस्तामा रहेको देशकै सबैभन्दा लामो झोलुङ्गे पुल जोखिममा रहेकोे छ ।
झोलुङ्गे पुलमा पर्यटकहरुको भिड बढेपछि पुल अहिले जोखिममा रहेको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आद्धम खाँ अन्सारी बताउनु भएको छ । उहाँले भन्नुभयो, क्षमता भन्दा बढि मान्छेहरुको भिड र मोटरसाईकल कुदाउँदा पुलमा रहेको फलामका प्लेटहरु दबने, बांगिने र नटबोल्टहरु खुल्न थालेका छन् । “लामो समयदेखि पुल नभएर दुख झेल्दै आएको सुस्ताबासीले पुल बनेपछि खुशीको सिमा नै रहेन । तर पछिल्लो समय सम्बन्धित निकायको निगरानीको अभावले पुल हेर्न आउने पर्यटकहरु क्षमता भन्दा बढि मान्छे राखेर मोटरसाईकल कुदाउन थालेपछि पुल जोखिममा रहेको छ ।” खानले भन्नुभयो ।
नारायणी नदीमा बनेको सुस्ता झोलुङ्गे पुलबाट नदी र वारिपरिको मनोरम दृश्य हेर्न लोभ लाग्दो हुन्छ । पछिल्लो समय भारतीय पर्यटकहरुको रोजाईमा सुस्ताको झोलुङ्गे पुल रहेको छ । तर उक्त पुल पर्यटनलाई जोड्नु भन्दापनि सुस्ताबासीको सहजताको लागि बनाईएको सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्ययले बताउनु भएको छ । गाउँपालिकाले त्यहाँ नगरप्रहरी समेत परिचालन गर्ने गरेको छ । गाउँपालिकाले पुलको सुरक्षालाई मध्यनजर गर्दै सवारी साधनलाई व्यवस्थापन गर्नका लागि ठेक्का समेत निकालेको हो ।” गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालका अनुसार गाउँपालिकाले ५ कठ्ठा जग्गा भाडा(लिज) मा लिएर गतसाल चैत्र महिनाको २८ गते ठेक्का निकालेको हो । “पन्ध्र महिनाको लागि ९ लाखमा निकालेको ठेक्कामा कसैले पनि फर्म नहालेपछि अहिले त्यतिकै छ । हामिले फेरी दोस्रो चरणमा पनि निकाल्नका लागि तयारी गरिरहेका छौं एक÷दुई दिनमा फेरी ठेक्का अहवान गर्ने छौं,” भुसालले भन्नुभएको छ ।
विकट सुस्तालाई सहज बनाउनका लागि २३ करोडमा नारायणी नदी माथी उक्त पुललाई बनाईएको छ । नेपालकै लामो भनिने उक्त पुलको लम्बाई एक हजार पाँच सय एकहत्तर मिटर र चौडाई एक मिटर ६० सेन्टिमिटर रहेको छ ।
कार्तिक २३, २०८३