दुई दिन अतिभारी वर्षाकाे सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव र कटानको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन प्राधिकरणले सर्वसाधारणमा आग्रह गरेको छ ।
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज (शनिबार) र भोलि (आइतबार) देशका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अत्यधिक वर्षा तथा देशका हिमाली–पहाडी भूभागसहित विभिन्न प्रदेशका तराई क्षेत्रमा भारीदेखि अतिभारी वर्षा हुने सम्भावना छ।
अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव र कटानको जोखिम बढ्ने भएकाले अत्यावश्यक कामबाहेक रातिको यात्रा नगर्न तथा जोखिमयुक्त जिल्लामा रातिको सवारी आवागमनमा विशेष सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ।
प्राधिकरणले पाँचथरदेखि स्याङ्जासम्मका २२ जिल्लामा रातिको सवारी सञ्चालनमा विशेष सावधानी अपनाउन, सुरक्षा निकाय, स्थानीय तह र स्वयंसेवकलाई तयारी अवस्थामा रहन तथा जोखिममा रहेका बस्तीका नागरिकलाई आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
नदी तथा खोला किनार, पहिरो जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सतर्क रहन र जल तथा मौसम विज्ञान विभाग तथा प्राधिकरणबाट जारी हुने अद्यावधिक पूर्वानुमान तथा चेतावनी नियमित रूपमा पालना गर्न पनि आग्रह गरिएको छ।
सम्बन्धित समाचार
अज्ञात वस्तु काट्ने क्रममा पड्किँदा दुई जना घाइते
दाङमा टिपरको ठक्करबाट बालकको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध
बुढीगण्डकीको बाढीले सल्लेरी बजार र हाइड्रोको क्याम्प बगायो
पोखरा स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो
कार्तिक २४, २०८३