कैलालीमा टहरा हटाउने बहानामा वन कर्मचारीले टेम्पो भीरबाट खसालिदिए

‘यदि मैले गल्ती गरेकी थिएँ भने कानुनी प्रक्रिया अनुसार कारबाही हुनुपर्थ्यो,’ उहाँले भन्रुभयाे, ‘तर मेरो परिवारको रोजीरोटीको आधार नै किन नष्ट गरियो ?’

जनविचार

जनविचार

जेठ ३१, २०८३ 119 views
1 Shares

कैलाली । एउटा पुरानो टेम्पोकै सहारामा कैलालीको गोदावरी नगरपालिका–४, बासपानीकी धनादेवी धामी परिवार पाल्दै आउनु भएकाेथियाे । तर डिभिजन वन कार्यालय धनगढीले जीविकोपार्जनको एकमात्र आधार रहेको जीएसए टेम्पो भीरबाट फालिदिएको धामीले बताउनु भएकाे छ ।

धामीका अनुसार डिभिजन वन कार्यालय धनगढीले गाईमारेडाँडास्थित सडकछेउमा राखिएको उहाँको टेम्पोबाट सामान झारेर भीरतर्फ खसालिदिएकाे हाे।

Advertisement

घटनापछि टेम्पोमा क्षति पुगेको र त्यसैसँगै परिवारको आयआर्जनको मुख्य स्रोतसमेत बन्द भएको उहाँले बताउनु भएकाे छ।

‘सामान झार्नुभयो, गाडी हामी आफैँ घर लैजान्छौँ भन्यौँ, तर कसैले सुन्नुभएन,’ धामीले भन्रुभयाे, ‘टेम्पो बिग्रिएपछि अहिले परिवारको दैनिकी नै संकटमा परेको छ ।’ 

‘यदि मैले गल्ती गरेकी थिएँ भने कानुनी प्रक्रिया अनुसार कारबाही हुनुपर्थ्यो,’ उहाँले भन्रुभयाे, ‘तर मेरो परिवारको रोजीरोटीको आधार नै किन नष्ट गरियो ?’

वन कार्यालयले भने वन अतिक्रमण नियन्त्रण अभियानअन्तर्गत क्षेत्रमा ४७ वटा संरचना हटाइएको जनाएको छ । तर स्थानीयवासीले कानुन कार्यान्वयनका नाममा सर्वसाधारणको जीविकोपार्जनको माध्यममाथि क्षति पुर्‍याइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

डिभिजन वन कार्यालय धनगढीका सूचना अधिकारी जीवछ यादवले पटक–पटक हटाउन आग्रह गरिए पनि अटेर गरिएकाले संरचना हटाउने काम गरिएको बताउनु भयाे । ‘त्यो चलाउनेभन्दा पनि व्यापार गर्न प्रयोग गरिने अटो थियो, पटक–पटक हामीले हटाउन भनेका थियौँ, तर मान्नुभएन,’ उहाँले भन्रुभयाे।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले घटनाबारे छानबिन सुरु गरिएको बताउनु भएकाे छ ।

‘हामीले पनि भिडियो आएपछि मात्रै थाहा पायौँ । इलाका प्रहरी कार्यालय मालाखेतीले पीडित महिलासँग समन्वय गरिसकेको छ । घटनाबारे के–कस्तो हो, हामी डिभिजन वन कार्यालयसँग पनि बुझ्दै छौँ,’ उहाँले भन्रुभयाे । (नेपाल प्रेस)

लेखक: जनविचार
सेयर गर्नुहोस्: