महिलाहरुलाई स्वरोजगार बनाउँदै प्रतापपुर गाउँपालिका

अनिल यादव

अनिल यादव

फाल्गुन १४, २०८२ 59 views
0 Shares

परासी, जेठ २७ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले स्थानीय स्रोतलाई प्रयोग गरि महिलाहरुलाई उद्यमी बनाउनका सीपमूलक तालिम दिइरहेको छ ।

Advertisement

नेपाल सरकारको उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयको सहयोग र प्रतापपुर गाउँपालिकाको सहकार्यमा सञ्चालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत प्रतापपुर गाउँपालिकाका विभिन्न वडाका महिलाहरुलाई उद्यमशिल बनाउनका लागि सीपमूलक तालिम दिइरहेको गाउँपालिका उपाध्यक्ष मानकुमारी चौधरीले बताउनु भयो । स्थानीय स्तरमा उपलब्ध पटेर, केरा र आलुको प्रयोग गरेर स्वरोजगार बन्नका लागि महिलाहरुलाई तालिम प्रत्येक वर्ष दिँदै आएको चौधरीले बताउनु भएको छ । उहाँले भन्नुभयो, गाउँपालिकाको विभिन्न वडामा हुने पटेर (पानी जम्ने तथा ओसिलो ठाउँमा हुने एकप्रकार झार) को प्रयोगले विभिन्न किसिमको हस्त समाग्री बनाउन सकिन्छ । पटेरबाट निर्माण गरिएको समाग्रीलाई बेचेर महिलाहरुको जिवनमा परिर्वतन ल्याउन सकिने उहाँले भन्नुभएको छ । पछिल्लो समय पटेरबाट बनाईएको समाग्रीहरुको माग धेरै भएकोले पटेरबाट विभिन्न समानहरु बनाउनका लागि सीपमूलक एड्वान्स तालिमहरु दिएको बताउनु भयो । पटेरबाट सुकुल, पिर्का, मोढा, गुन्द्री, म्याट, कलमदानी, टोपी, चकटी, व्याग, हैण्ड व्याग लगायतका सामानहरु बनाईन्छ । यसैगरी केरा र आलुबाट विभिन्न प्रकार चिप्स बनाउने तालिम दिईएको उपाध्यक्ष चौधरीले बताउनुभयो ।

गाउँपालिकाको लुघु उद्यम शाखाका उमेश यादवका अनुसार १५ जनालाई सीपमूलक तालिम दिईएको छ । र गतवर्ष सीपमूलक तालिम लिईसकेका २६ जना स्तरोन्नती अन्तर्गत एड्वान्स तालिम लिएका छन् । यसकिसिमको तालिम प्रत्येक वर्ष सञ्चालन हुँदै आएको उहाँले भन्नुभयो । पहिलो पटक तालिम लिईसकेकाहरुलाई अर्कोवर्ष एड्वान्स तालिम दिने गरिएको उहाँले बताउनु भएको छ । गाउँपालिकाले स्थानीय स्रोतको प्रयोगबाट गाउँपालिका बासीलाई उद्यमी बनाउने लक्ष्य अनुसार नै संघिय सरकारको सहयोगमा उक्त तालिमहरु दिईरहेको छ ।

गाउँपालिकाले महिलाहरुलाई निशुल्क सीपमूलक तालिम दिई उनिहरुलाई आवश्यकता अनुसार प्रविधि उपलब्ध तथा अनुदान दिने कार्यक्रम समेत गर्दै आएको छ । केहिले व्यवसाय सुरू गरिसकेकाे पनि गाउँपालिकाले जनाएकाे छ ।

लेखक: अनिल यादव
सेयर गर्नुहोस्: