सात महिनामा रामग्राम स्तूपमा तेह्र हजार बढी पर्यटक
परासी । पश्चिम नवलपरासीको रामग्राम स्तूपमा १३ हजार बढी पर्यटकहरु भ्रमण गरेका छन् । बुद्ध धर्मको ठुलो आस्थाको स्थलको रुपमा चिनिने रामग्राम स्तूप पछिल्लो समय आन्तरिक र बाह्र पर्यटकहरुको रोजाइमा पर्ने गरेको छ ।
जिल्लाको रामग्राम नगपालिका–७ उजैनी स्थित रामग्राम स्तूपमा ७ महिना भित्र १३ हजार ८९४ पर्यटकहरु अवलोकन तथा भ्रमण गरेको रामग्राम क्षेत्र विकास कोषका पर्यटन शाखाका सहायक अरविन्द चौधरीे बताउनु भएको छ । उहाँले भन्नुभयो, “रामग्राम स्तूपमा सबैभन्दा बढी पर्यटक थाइल्यान्ड आउने गरेका छन् । सात महिनामा ४ हजार ६७० पर्यटकहरु स्तूपमा भ्रमण गरिसकेका छन् । भने त्यसपछि चीन र म्यानमारका पर्यटकहरु रहेका छन् । चीनका २ हजार ५२० र म्यानमारका १ हजार ९७८ पर्यटकहरु स्तूपको अवलोकन गरेका छन् ।”
तर पछिल्लो चार महिनामा भने पर्यटकहरु घटेका छन् । सन २०२६ को जनवरी देखि मार्च महिना सम्म ११ हजार ३८५ पर्यटकहरु रामग्राम स्तूपमा भ्रमण गरेका थिए । भने अप्रिल देखि जुलाई सम्म २ हजार ५०९ जना मात्रै पर्यटकहरु आएको रामग्राम क्षेत्र विकास कोषका चौधरीले भन्नुभयो । अहिले पर्यटकहरु घट्नुको मुख्य कारण वर्षाको मौसम रहेको उहाँले भन्नुभयो । सेप्टेम्बर देखि फेरी पर्यटकहरुको संख्यामा वृद्धि हुने उहाँले भन्नुभयो ।
त्यसैगरी सन् २०२५ मा रामग्राम स्तूपमा २५ हजार ४४७ पर्यटकहरु आएको चौधरीले भन्नुभयो । जस्मा सबैभन्दा बढी थाइलैन्डका ९ हजार ४१३ पर्यटक आए । यसैगरी चीनबाट ३ हजार २८२ र नेपालको माथिल्लो मुस्ताङबाट २ हजार ५४९ जना पर्यटकहरु आएको उहाँले बताउनु भयो । सबैभन्दा कम युगान्डा र ब्राजिलकाे एकएक जना आएको उहाँले भन्नुभयो ।
रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले पर्यटकहरु बढेपछि स्थानीयले रोजगारी पनि पाएको बताउनु भयो । स्तूपको वरिपरि विभिन्न ठेलाहरुले खाजा नास्ताको व्यवसाय गर्दै स्वरोजगार समेत बनेको उहाँले भन्नुभयो । स्तूप विकासका लागि संघिय सरकारको समेत ध्यानकर्षण हुन आवश्यक रहेको उहाँले भन्नुभायो ।
कार्तिक २३, २०८३