बाजुरामा पर्यटकको आकर्षण बढ्दो
हरेक वर्ष हिउँद याममा सेताम्य हिउँले ढाकिने पोरखेगढीले पर्यटकलाई लोभ्याउँदै आएको छ
बाजुरा । बाजुराको प्रमुख पर्यटकीय गन्तव्य पोरखेगढी यतिबेला बाक्लो हिमपातसँगै सेताम्य हिउँको तन्नाले ढाकिएको छ।प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोरखेगढी अहिले आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षणको केन्द्र बनेको छ।
हिउँमा रमाउन दिनहुँ हजारौंको संख्यामा पर्यटक यहाँ पुग्ने गरेका छन्।बाजुराको सबैभन्दा ठूलो वन क्षेत्र, विशाल घाँसे मैदान, अग्ला हिमचुचुरा र प्रशस्त प्राकृतिक स्रोत–साधनले भरिएको पोरखे क्षेत्र यतिबेला प्रकृतिको रानीजस्तै सिँगारिएको देखिन्छ।
हरेक वर्ष हिउँद याममा सेताम्य हिउँले ढाकिने पोरखेगढीले पर्यटकलाई लोभ्याउँदै आएको छ।वरपरका सेताम्य डाँडापाखा, हँसिला हिमाल र हिउँसँगै नाचिरहेको प्रकृतिको दृश्य अत्यन्तै मनमोहक र रमणीय देखिन्छ। चिसो बढे पनि हिउँको आनन्द लिन पर्यटकको चहलपहल भने झनै बढेको छ ।
आन्तरिक तथा बाह्य पर्यटकहरू समूह–समूहमा कालाजग्रा–पोरखेगढीको अवलोकनमा जुटिरहेका छन्।पर्यटकहरू हिउँका घर तथा मानव आकृति बनाउने, चिप्लेटी खेल्ने, एक–आपसमा हिउँका डल्ला हानाहान गर्ने तथा टिकटक र रिल बनाउने गतिविधिमा रमाइरहेका देखिन्छन्।
कार्तिक २४, २०८३