पर्यटन प्रवर्द्धनका लागि नवलपरासी सम्पदा साइकल यात्रा
साईकल यात्राबाट धुँवा र ध्वनीको प्रदुषण नभएपछि वातावरणलाई राम्रो हुने
नवलपरासी । पश्चिम नवलपरासीमा पर्यटन प्रवर्द्धनका लागि भोली विहान (शनिवार) नवलपरासी सम्पदा साइकल यात्रा हुने भएको छ ।
नवलपरासी साइकल राईडर्स क्लबको आयोजनामा नवलपरासीको विभिन्न पर्यटकीय क्षेत्रहरु लगायतको ठाउँमा साइकल यात्रा हुनेभएको क्लबका अध्यक्ष राम बहादुर थापाले बताउनु भएको छ । जिल्ला भित्र रहेका विभिन्न पर्यटकीय स्थलहरुलाई चिनाउन तथा प्रचार प्रसारको उद्देश्यले साइकल यात्रा गर्न लागेको उहाँले भन्नुभयो ।
नवलपरासी जिल्ला पर्यटनको हिसाबले प्रचुर सम्भावना बोकेको जिल्लाको रुपमा रहेको छ । यहाँ भएका विभिन्न पर्यटकीय स्थलहरुमा उत्खन्न तथा सर्वेक्षणका समयमा प्राचिन समयका अवशेषहरु पनि फेला परेको पाईन्छ । ती स्थलहरु प्रचार प्रसारको अभावमा ओझेलमा परेपछि यो साइकल यात्रा आयोजना गरिएको क्लबका अध्यक्ष थापाले भन्नुभयो । त्यसैले यो साइकल यात्रा “स्वास्थ्य र सम्पदा, कायम राखौं प्राकृतिक हराभरा” भन्ने मूल नाराका साथ आयोजना गरिएको उहाँले भन्नुभयो ।
सुनवल नगरपालिकामा रहेको एसियाकै ठुलो कृष्ण मूर्ती मन्दिरबाट सुरु हुने साइकल यात्रा परासीको बुद्धचोक हुँदै रामग्राम स्तूप, बर्दघाट नगरपालिकाको भटौलिया बजार हुँदै कन्चनकुटी, बर्दघाट बजार हुँदै सुनवल नगरपालिकाको बाबा बर्दगोरी मन्दिर र कृतिपुर हुँदै सुनवल स्थित ब्लु लोट्स रिसोर्ट सम्म ७० किलोमिटरको साइकल यात्रा हुने क्लबका अध्यक्ष थापाले भन्नुभयो । जिल्ला भित्र रहेका यी आस्थाका धरोहर तथा पर्यटकीय गन्तव्यलाई संरक्षा तथा प्रर्वद्धनका लागि साइकल यात्राले थप उर्जा थप्ने उहाँले भन्नुभयो । 
क्लबका सचिव बासुदेव पौडेलका अनुसार साइकल यात्राले स्वास्थ्य र पर्यटन दुबैलाई जोड्ने छ । साइकल चलाएपछि हाम्रो स्वास्थ्यलाई फाईदा हुनुका साथै यात्राका क्रममा पर्यटकीय गन्तव्य घुम्ने अवसर पनि प्राप्त हुने उहाँले बताउनु भयो । त्यस्तै साइकल यात्राबाट धुँवा र ध्वनीको प्रदुषण नभएपछि वातावरणलाई राम्रो हुने उहाँले भन्नुभयो ।
भोली हुने विहान ७ बजेदेखी सुरु हुने साइकल यात्रामा सयौको संख्यामा साइकल यात्रीहरु सहभागि हुने क्लबका सचिव पौडेलले भन्नुभयो । जसमा जिल्लाबाट २० देखी ३० जनासम्म हुनसक्ने र बाँकी अन्य जिल्ला रुपन्देही, पाल्पा, कपिलवस्तु र पूर्वी नवलपरासीबाट सहभागि हुने उहाँले बताउनु भयो ।
बाहिर जिल्लाका साइकल यात्रीहरु आजै नवलपरासी आएर बस्ने क्लबले जनाएको छ । उक्त कार्यक्रमका लागि नवलपरासीको सुनवल नगरपालिका, रामग्राम नगरपालिका र बर्दघाट नगरपालिकाले आर्थिक सहयोग गरेको आयोजकले बताएको छ ।
कार्तिक २४, २०८३