बालबालिकासम्बन्धी कसुरमा एमाले प्रदेश सांसद पक्राउ
कुटपिट गरेको, बाहिर निस्किन नदिएको, बसोबासको उचित व्यवस्था नगरेको तथा मानसिक पीडा दिएको आरोप
काठमाडौँ । नेकपा एमालेबाट लुम्बिनी प्रदेश सभा सदस्य रेखाकुमारी शर्मालाई प्रहरीले पक्राउ गरेकाे छ । उहाँलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति धुम्बाराहीस्थित निवासबाट पक्राउ गरेको हो ।
एमाले महासचिव शंकर पोखरेल निकटस्थ शर्मामाथि दाङ एक नाबालिकालाई घरेलु कामदार बनाउँदै हिंसा गरेको आरोप थियो । २०८१ जेठ १४ गते काठमाडौँ महानगरपालिकाले बालुवाटारस्थित शर्माको घरबाट बालिकाको उद्धार गरेको थियो ।
उद्धारपछि शर्मामाथि नाबालिकालाई कुटपिट गरेको, बाहिर निस्किन नदिएको, बसोबासको उचित व्यवस्था नगरेको तथा मानसिक पीडा दिएको आरोप लगाइएको थियो । त्यसबेला काठमाडौँ महानगरपालिकाका मेयर रहेका हालका प्रधानमन्त्री बालेन शाहले सार्वजनिक रूपमा यस विषयमा प्रश्न उठाउनु भएकाे थियाे ।
घटनापछि २०८१ जेठ ३० गते जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता भएको थियो । महानगरपालिकाले बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ६६ उपदफा (२०) (ङ) अनुसार कसुर भएको दाबी गर्दै जाहेरी दिएको थियो ।
कार्तिक २४, २०८३