नेविसंघको निर्णय अराजनीतिक र अवैधानिक भन्दै कारबाहीको चेतावनी
नेविसंघलाई अलग राख्दा नेपालको इतिहास नै अधुरो रहने भन्दै भ्रातृ संस्था रहने/नरहने विषय पार्टीको क्षेत्राधिकारभित्र रहेको छ
काठमाडौं । पार्टीको भ्रातृ संगठनको भूमिकाबाट अलग्गिने नेविसंघ सिनेटको निर्णय कारबाहीको विषय बन्न सक्ने कांग्रेले चेतावनी दिएको छ ।
सानेपामा केन्द्रीय समिति बैठक जारी रहँदा प्रवक्ता देवराज चालिसेले पार्टीको विधानमै व्यवस्था भएका संस्थाले ‘म अलग भएँ’ भन्नु अराजनीतिक र अवैधानिक रहेको प्रष्ट्याउनु भयाे ।
उहाँले लोकतान्त्रिक पार्टीमा क्रिया प्रतिक्रिया राख्न पाइए पनि ती विषय विधानभित्र रहेर हुनुपर्ने सबैले सदस्य र समर्थकले ख्याल गर्नुपर्ने भन्दै सचेत गराउनुभएकाे छ ।
पत्रकारमाझ चालिसेले भन्नुभयाे, ‘नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघलगायत भ्रातृ संस्थाहरू पार्टीको विधानमै व्यवस्था भएका संस्थाहरू हुन् । नेपाली कांग्रेसले निर्माण गरेका संस्थाले म अलग भएँ भनेर घोषणा गर्नु कति राजनीतिक, वैधानिक र अर्थपूर्ण हुन्छ ? त्यो भन्ने मान्छेले बुझ्नुपर्ने कुरा हो र गर्ने मान्छेले बुझ्नुपर्ने कुरा हो ।’
पार्टी बैठकमा यो विषयले प्रवेश पाएको भन्दै उहाँले थप्नुभयाे, ‘यो पार्टीभित्रको अनुशासन र मर्यादाको विषय पनि बन्न सक्छ । सबै दृष्टिकोणले यो लक्ष्मण रेखाभन्दा बाहिरको विषय भयो ।’
सिनेटको निर्णय नमान्ने र अध्यक्ष दुजाङ शेर्पालाई कारबाहीको माग लिएर नेविसंघको एक टोली सानेपा पुगेको थियो । ज्ञापन पत्र बुझ्दै महामन्त्री गुरुराज घिमिरेले नेविसंघलाई अलग राख्दा नेपालको इतिहास नै अधुरो रहने भन्दै भ्रातृ संस्था रहने/नरहने विषय पार्टीको क्षेत्राधिकारभित्र रहेको बताउनुभएकाे थियाे । उहाँले यो विषयमा ढिला नगरी भ्रातृ संस्थाहरूका विषयमा संस्थागत निर्णय गर्ने बताउनुभयाे । (nepalpress)
सम्बन्धित समाचार
सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन हुने पदहरू यस्ताे छ (सूचीसहित)
कांग्रेस नवलपरासी- २ काे प्रदेश क काे सभापतिमा जयराम निर्वाचित
देउवा समूहकाे जिल्ला संयोजकमा धर्मदत्त चापागाईं
कार्तिक २४, २०८३