ट्रम्प र पेजेस्कियनद्वारा बेग्लाबेग्लै हस्ताक्षर

जनविचार

जनविचार

असार ४, २०८३ 118 views
1 Shares

काठमाडौँ । अमेरिका र इरानबिच युद्ध अन्त्य गर्न ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति मसुद पेजेस्कियनले शान्ति सम्झौतामा बेग्लाबेग्लै हस्ताक्षर गर्नुभएको छ ।

अमेरिकाले इजरायलसँग मिलेर गत फेबु्रअरी २८ मा इरानमाथि आक्रमण गरेसँगै भीषण युद्ध सुरु भएको हो । यो युद्धमा इरानले उच्च नेतृत्व गुमाउनुका साथै ठुलो जनधनको क्षति भोगेको छ ।  
अमेरिकाका राष्ट्रपति ट्रम्पले फ्रान्सको भर्साइल्स दरबारमा बुधबार आयोजित रात्रिभोजमा शान्ति सम्झौतामा डिजिटल हस्ताक्षर गर्नुभयो । त्यसलगत्तै इरानका राष्ट्रपति पेजेस्कियनले तेहरानमा डिजिटल हस्ताक्षर गर्नुभएको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ । शान्ति सम्झौताले शत्रुताको स्थायी अन्त्यको आह्वान गरेको छ । 

शान्ति सम्झौताका मुख्य बुँदा 
• सैन्य कारबाहीको अन्त्य : लेबनानलगायत सबै मोर्चामा सैन्य कारबाही तत्काल र स्थायी रूपमा अन्त्य गर्ने ।
• सार्वभौमसत्ता : एकअर्काको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्ने तथा आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने ।
• अन्तिम सम्झौताको समयसीमा: अधिकतम ६० दिनभित्र वार्ता गरी विस्तृत सम्झौता गर्ने । म्याद थप गर्न सकिने ।
• जहाजहरूको आवागमन : युद्धपूर्वकै अवस्थामा जहाजहरूको आवतजावत पुन: सुचारु गर्ने ।
• हर्मुज जलमार्ग : पर्सियन खाडीबाट ओमानको समुद्र्रसम्म ६० दिनसम्म बिनाशुल्क व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने ।  
• पुनर्निर्माण योजना : इरानको पुनर्निर्माण र आर्थिक विकासका लागि कम्तीमा तीन सय अर्ब अमेरिकी डलरको निश्चित योजना विकास गर्ने ।
• प्रतिबन्धको पूर्ण अन्त्य : संयुक्त राष्ट्रसङ्घका प्रस्तावसहित  इरानविरुद्धका सबै प्रकारका प्रतिबन्ध अन्त्य गर्ने ।
• आणविक हतियार निषेध : इरानले आणविक हतियार खरिद वा विकास नगर्ने प्रतिबद्धता पुन: गर्ने ।
• यथास्थिति कायम : अन्तिम सम्झौता नभएसम्म इरानको आणविक कार्यक्रम र अमेरिकाको सेना परिचालन यथास्थितिमा रहने ।
• निर्यात र बैङ्किङ छुट : इरानी कच्चा तेल, पेट्रोलियम पदार्थ र सम्बद्ध बैङ्किङ/बिमा सेवाहरूका लागि अमेरिकी प्रतिबन्ध फुकुवा गर्ने ।
• रोक्का सम्पत्ति फुकुवा : यो शान्ति सम्झौताको कार्यान्वयनसँगै इरानको रोक्का रहेका सम्पूर्ण कोष र सम्पत्ति प्रयोगका लागि उपलब्ध गराउने ।
• अनुगमन संयन्त्र : शान्ति सम्झौताको कार्यान्वयन र भविष्यको सम्झौताको पालना सुनिश्चित गर्न एक कार्यकारी संयन्त्र स्थापना गर्ने । 

(गाेरखापत्र)

Advertisement
लेखक: जनविचार
सेयर गर्नुहोस्: