फिलिपिन्समा ६.० म्याग्निच्युडको भूकम्प
फिलिपिन्सको मध्य भागमा पर्ने समर टापु सोमबार शक्तिशाली भूकम्पले हल्लिँदा स्थानीय बासिन्दामा त्रास फैलिएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) का अनुसार दिउँसो २ः०९ बजे (०६०९ जिएमटी) गएको भूकम्पको तीव्रता ६.० म्याग्निच्युड मापन गरिएको छ ।
भूकम्प समर प्रान्त अन्तर्गत पर्ने तटीय सहर सान जुलियनबाट करिब नौ किलोमिटर दूरीमा ७३.३ किलोमिटर गहिराइमा केन्द्रित रहेको जनाइएको छ । गहिराइ बढी भएकाले ठुलो विनाश हुनबाट जोगिएको अनुमान गरिएको छ ।
स्थानीय एक प्रहरी अधिकारीका अनुसार भूकम्प ‘अचानक र निकै शक्तिशाली’ महसुस गरिएको थियो । उहाँले प्रहरी कार्यालयमै छतसँग जोडिएको एक बिम भाँचिएको र केही फर्निचरहरू हल्लिएको देखिएको बताउनुभयो । सम्भावित परकम्प (आफ्टरसक)को जोखिमका कारण प्रहरीसहित अन्य कर्मचारीहरू बाहिर बसेर सतर्कता अपनाइरहेका छन् ।
हालसम्म मानवीय क्षति वा गम्भीर चोटपटकको कुनै आधिकारिक विवरण प्राप्त नभएको जनाइएको छ । तर भूकम्पको झट्काले स्थानीय स्तरमा डर र असुरक्षाको वातावरण सिर्जना गरेको छ ।
कार्तिक २४, २०८३