बत्तीका कारण कृषि उत्पादनमै असर
“कृत्रिम उज्यालोका कारण बिरुवाले दिन र रातको सन्तुलन छुट्याउन सक्दैन,”
काठमाडौँ । राति झिलिमिली सडकबत्तीले चम्किएको राजमार्ग । होटल र रिसोर्टवरपर सजावटका लागि राखिएको बत्तीले उज्यालो पारिएका रुख । खेतको डिलमै राखिएका कडा एलइडी बत्ती । आधुनिक विकास र सौन्दर्यको प्रतीक बत्तीकाे उज्यालोले अहिले वातावरण मात्रै होइन, खेती प्रणालीलाई समेत प्रभावित पर्न थालेका छन् ।
हामीले बाल्ने बत्तीका कारण कृषि उत्पादन घट्न सक्छ भन्ने कुरा धेरैलाई अस्वाभाविक लाग्न सक्छ । तर पछिल्ला वर्षहरूमा सडक, होटल, रिसोर्ट, बजार तथा खेतीयोग्य क्षेत्रवरपर रातभरि बल्ने कडा प्रकाशयुक्त बत्तीका कारण कृषि उत्पादनमै असर देखिन थालेको विज्ञहरूले बताएका छन् । विकास, सुरक्षा र सौन्दर्यका नाममा बढ्दो कृत्रिम उज्यालोले प्रकृतिको स्वाभाविक चक्रमा हस्तक्षेप गर्दै जैविक विविधता र खाद्य उत्पादन दुवै क्षेत्रमा चुनौती सिर्जना गरिरहेको उनीहरूको भनाइ छ । गाउँदेखि सहरसम्म सडक किनार, घर, होटल, रिसोर्ट तथा जङ्गलआसपासका क्षेत्रमा झिलिमिली बत्ती राख्ने प्रवृत्ति तीव्र रूपमा बढेको छ । व्यापार प्रवर्धन, सुरक्षा तथा जङ्गली जनावरबाट बच्ने उद्देश्यले रातभर तेज प्रकाश बाल्ने चलन सामान्यजस्तै बनेको छ ।
तर यसले रातको प्राकृतिक वातावरणलाई प्रभावित बनाउँदै चरा तथा अन्य जीवजन्तुको जीवनचक्रमा असर पारिरहेको अध्ययनकर्ता बताउँछन् । त्यसको प्रत्यक्ष प्रभाव कृषि क्षेत्रमा देखिन थालेको छ । विशेष गरी जङ्गल र नदी किनारलाई आकर्षक र सुरक्षित देखाउन रिसोर्ट निर्माण गरी रुखमा सजावटी बत्ती राख्ने चलनले नजिकैका खेतीबाली प्रभावित भएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा कार्यरत कृषि वैज्ञानिक घनश्याम भण्डारीका अनुसार सडक किनारमा रातभर बल्ने तेज प्रकाशका कारण नजिकै लगाइएका बालीमा उत्पादन घट्ने समस्या देखिएको छ । उहाँले विशेष गरी मकैमा यसको असर गम्भीर रूपमा देखिएको बताउनुभयो ।
“मकैको बोट अस्वाभाविक रूपमा अग्लो हुने तर घोगा नलाग्ने, परागसेचन प्रभावित हुने र दाना नलाग्ने समस्या देखिएको छ,” उहाँले भन्नुभयो, “चर्को बत्ती भएका सडकको चार मिटरआसपाससम्म मकैमा घोगा नलागेको पाइएको छ ।” चितवनको भरतपुर क्षेत्रमा उत्पादन गरिने रामपुर–१० हाइब्रिड जातको मकैमा यस्तो समस्या देखिएको उहाँले जानकारी दिनुभयो । किसानले “मकै अग्लो भयो तर घोगा लागेन” भन्ने गुनासो गरेपछि अनुसन्धान टोली स्थलगत निरीक्षणमा पुगेको थियो । त्यस क्रममा रातभर बल्ने चर्को प्रकाशका कारण बाली प्रभावित भएको पुष्टि भएको उहाँले बताउनुभयो ।
“कृत्रिम उज्यालोका कारण बिरुवाले दिन र रातको सन्तुलन छुट्याउन सक्दैन,” उहाँले भन्नुभयो, “बालीलाई उज्यालोसँगै निश्चित समय अँध्यारो पनि आवश्यक हुन्छ ।” उहाँका अनुसार उज्यालोका कारणले मकैमा भाले भागमा पराग भए पनि पोथी भागको जुँगा सक्रिय नहुने समस्या देखिएको छ । त्यसले परागसेचन प्रक्रिया अवरुद्ध बनाउँछ र अन्ततः उत्पादन घट्छ । (गाेरखापत्र)
कार्तिक २४, २०८३