कोशी प्रदेशका तीन जिल्लामा बर्डफ्लू, कुखुराहरू नष्ट गरियाे

संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रबाट कुखुरा, अण्डा तथा अन्य पन्छीजन्य सामग्रीको ओसारपसार पूर्ण रूपमा रोकिएको छ।

जनविचार

जनविचार

चैत १०, २०८२ 147 views
2 Shares

विराटनगर । कोशी प्रदेशका तीन प्रमुख जिल्ला मोरङ, सुनसरी र झापामा बर्डफ्लू भेटिएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला विराटनगरका अनुसार, मोरङका ५, सुनसरीका ५ र झापाको १ स्थानमा बर्डफ्लू संक्रमण भेटिएको हो ।

विराटनगरमा परीक्षण गर्दा शंकास्पद देखिए थप परीक्षणका लागि  केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला काठमाडौंमा नमुना पठाइन्छ ।

Advertisement

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका प्रमुख डाक्टर अजयकुमार साहका अनुसार, विराटनगर महानगरपालिका–४ स्थित दाहाल कृषि फार्म, सुन्दरहरैँचा नगरपालिका–४ स्थित हलेसी महादेव कृषि फार्म, उर्लाबारी नगरपालिका–८ स्थित अठियावारी कृषि फार्म, कटहरी गाउँपालिका–२ स्थित ए टु जेड पोल्ट्री फार्म, कटहरी–६ स्थित कामख्या पोल्ट्री फार्ममा बर्ड फ्लुको संक्रमण पुष्टि भएको हो ।

संक्रमण देखिएपछि ती स्थान आसपास शिल गरेर पन्छी र पन्छीजन्य सामग्री नष्ट गर्ने काम भइरहेको छ ।

विराटनगरको दाहाल कृषि फर्ममा ६ हजार लेयर्स कुखुरा थिए । तीमध्ये ३ हजार कुखुरा आफैं मरेका थिए । बाँकी ३ हजार कुखुरा बर्डफ्लू देखिएपछि विराटनगर महानगरपालिकाले नष्ट हाे । 

सुनसरीको इटहरी उपमहानगरपालिका १९ मा रहेको ओको कृषि फर्म, इटहरी १७ मा रहेको लक्ष्मी पोल्ट्री फार्म, इटहरी १८ मा रहेको  रानी कृषि फार्म, इटहरी ११ मा रहेको आलम कृषि फर्म, गढी गाउँपालिका ५ मा रहेको संगित कृषि फर्ममा बर्डफ्लू पुष्टि भएको हो । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख डा मनोजकुमार महतोका अनुसार, सबैभन्दा धेरै ओको कृषि फर्मममा रहेको ११ हजार २० कुखुरा नष्ट गरिएको छ ।

झापाको दमक नगरपालिका वडा नं. १० स्थित दमक एग्रिकल्चर फार्म प्रा. लि.मा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय झापाले प्रभावित क्षेत्रलाई संकटग्रस्त घोषणा गर्दै आवश्यक सतर्कता अपनाउन निर्देशन दिएको छ।

संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रबाट कुखुरा, अण्डा तथा अन्य पन्छीजन्य सामग्रीको ओसारपसार पूर्ण रूपमा रोकिएको छ। फार्ममा करिब २० हजार कुखुरा रहेका थिए। सञ्चालक देवेन्द्र प्रसाईका अनुसार अचानक धेरै कुखुरा मर्न थालेपछि परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो।

फार्ममा रहेका २० हजार र नजिकैको अर्को फार्मका ५ हजार गरी कुल करिब २५ हजार कुखुरा नष्ट गर्ने कार्य सुरु गरिएको छ। शंकास्पद कुखुरा र मरेका कुखुराको ल्याब परीक्षण पनि तीव्र पारिएको छ।

दमक नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार सरोकारवाला निकायहरूसँग समन्वय गरी संक्रमित तथा प्रभावित कुखुरा नष्ट गर्ने कार्य तीव्र रुपमा अघि बढाइएको छ।

 

 

लेखक: जनविचार
सेयर गर्नुहोस्: