बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई निर्देशन
आर्थिक कारोबार र पुँजी पलायनलाई रोक्ने उद्देश्यले सरकारले यस्तो निर्णय संगै प्राधिकरणले बेटिङ बन्द गर्ने प्रक्रिया सुरु गरेकाे छ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप ‘बेटिङ एप’ २४ घण्टाभित्र बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।
सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाको अध्यक्षतामा आज मन्त्रालयका सचिवसहित महाशाखा प्रमुखहरुसँगको बैठकमा मन्त्री तिमिल्सिनाले बेटिङ एप र त्यससम्बन्धी वेबसाइट बन्द गर्न निर्देशन दिनुभएको हो । अवैध आर्थिक कारोबार र पुँजी पलायनलाई रोक्ने उद्देश्यले सरकारले यस्तो निर्णय गरेको जनाइएको छ ।
यो निर्देशनसँगै प्राधिकरणले बेटिङ बन्द गर्ने प्रक्रिया सुरु गरेकाे छ । बेटिङ बन्दका लागि ‘अपरेटर्स’हरुलाई निर्देशन दिएर बन्द कार्य सुरु भइसकेको प्राधिकरणका सहायक प्रवक्ता डा.प्रदीप पौड्यालले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्को यही चैत १३ गतेको बैठकले अवैध रूपमा सञ्चालित अनलाइन बेटिङ बन्द गर्ने निर्णय गरेको थियो ।त्यसलगत्तै सञ्चारमन्त्री डा.तिमिल्सिनाले मन्त्रालय र सम्बद्ध निकायसँग छलफल गरी तत्कालै ‘एक्सन’ लिनुभएको छ ।
मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीमार्फत सरकारले देशभित्र सञ्चालित सबै सट्टेबाजी एप र वेबसाइटलाई २४ घण्टाभित्रै पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो ।
कार्तिक २३, २०८३