भैरहवा, १० फागुन । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभाको निर्वाचन निष्पक्ष र शान्तिपूर्ण बनाउन लुम्बिनी प्रदेशका सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ ।
शुक्रबार साँझ बुटवल आएकी प्रधानमन्त्री कार्कीले शनिबार बिहान लुम्बिनीे प्रदेशका सुरक्षा अधिकारीलाई निर्वाचन निष्पक्ष, स्वच्छ र शान्तिपूर्ण बनाउन निर्देशन दिनुभएको हो ।
प्रदेशका सुरक्षा अधिकारीको संयुक्त बैठकमा प्रधानमन्त्री कार्कीले निर्देशन दिँदै भन्नुभयो, “अहिले सरकारको मुख्य कार्यादेश निर्वाचन भएकाले यसैमा ध्यान केन्द्रित गर्न आग्रह गर्न चाहन्छु ।” उहाँले फागु पूर्णिमा (होली) आउँदै गरेको र हिमाली क्षेत्र खास गरी रुकुमपूर्वमा सम्भावित हिमपात जस्ता प्राकृतिक समस्या देखा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीका अनुसार प्रधानमन्त्री कार्कीले सबै सुरक्षा निकायका प्रमुखबाट प्रदेशको सुरक्षा अवस्थाबारे जानकारी लिएसँगै अबको सुरक्षा रणनीति र सरकारको योजनाबारे निर्देशन दिनुभएको छ ।



