बेलाटारी, कार्तिक ५ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले २० बिघामा ठुलो ताल बनाउँदै छ । घोलालाई तालको रूपमा परिवर्तन गरि ठुलो ताल बनाउन थालेको हो ।
पर्यटन विकास तथा प्रर्वद्धनका लागि गाउँपालिकाले २० बिघामा ठुलो ताल बनाउन लागेको सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले बताउनु भएको छ । ताल निर्माण गरी आन्तरीक तथा बाह्र पर्यटकको आवगमन बढ्ने उहाँले बताउनु भएको छ । गाउँपालिकाको ३ र ४ नम्बर वडाको विचमा रहेको घोलालाई सफाइ तथा मर्मत गरि ठुलोताल बनाउन लागेको भुसालले भन्नुभयो । ताल निर्माणपछि पर्यटन विकासमा टेवा पुग्ने उहाँले भन्नुभएको हो । ताल निर्माणका लागि गाउँपालिकाले करिब ९० लाख खर्च गरिसकेको अधिकृत भुसालले बताउनु भएको छ । तालको वरिपरि फुटपाथ, पार्क, वरिपरि विभिन्न पर्यटकीय संरचनाहरू, उद्यान र प्राकृतिक सौन्दर्यता बनाईने उहाँले भन्नुभएको छ ।
पालिका भित्र रहेको पर्यटकीय सम्भावनाका स्थलहरू लाई पहिचान गरि गाउँपालिकाले पर्यटन विकासका नितिहरू अगाडि बढाएको गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्ययले बताउनु भएको छ । तालमा माछा पालन समेत गरिने भन्नुभएको छ । लामो समय देखि घोलाको रुपमा रहेकोले यसको खासै महत्व थिएन तर अब ठुलो ताल बनेपछि पर्यटन विकास समेत हुने अध्यक्ष उपाध्ययले बताउनु भएको छ । ताल निर्माणपछि पालिकाको आम्दानी स्रोत समेत बन्ने उहाँले भन्नुभयो । पहिलो चरणमा घोला भित्र रहेका झाडि तथा फोहोरलाई जेसिभि लगाएर सफा गरिएको उहाँले भन्नुभयो । अब तालको स्वरुपमा देखिन थालेको छ । केही समयमै भौतिक संरचनाहरु समेत निर्माण हुने भन्नु भयो ।
गाउँपालिकाले पर्यटन विकासका लागि विभिन्न स्थलहरुको पहिचान गर्ने कार्य समेत गरिरहेको छ । पर्यटन विकास मार्फत आम्दानीका स्रोतहरु व्यवस्थापन गर्ने गाउँपालिकाको उद्देश्य रहेको छ ।