काठमाडौं, १६ साउन । ओलम्पियन गौरिका सिंहको नाम १९औं एसियन गेम्स खेल्ने सूचीमा समावेश छैन ।
एसियन गेम्स आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हान्झाउ सिटीमा हुँदैछ । तर नेपालको पौडीबाट दुई पटक ओलम्पिक खेलिसकेकी गौरिका भने १९औं एसियन गेम्समा नदेखिने भएकी छन् ।
जेठमा भएको ११औं एनएसए कप पौडी प्रतियोगिताबाट उत्कृष्ट हुँदा गौरिकासहित डुवाना लामा तथा पुरुषतर्फ एलेक्स शाह र नासिर हुसेन चीनको होङझावमा हुने १९औं एसियन गेम्सका लागि छनोट भएका थिए ।
त्यतिबेला नेपाली पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले प्रतियोगितामा उत्कृष्ट अंक ल्याउने २–२ जना खेलाडीलाई एसियाडका लागि छनोट गरिएको बताएका थिए ।
तर एसियन गेम्सका लागि पठाइएको पौडी खेलाडीको सूचीमा गौरिकाको नाम छैन । उनको स्थानमा अनुशिया तन्डुकारको नाम समावेश छ र बाँकी तीन खेलाडी यथावत छन् । राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीको सूचीमा पौडीमा गौरिकाको नाम छैन ।
वर्ल्ड च्याम्पियनसिप खेले पनि गौरिकाले एसियन गेम्स भने नखेल्ने भएको नेपाल ओलम्पिक कमिटी स्रोतले जनाएको छ । हाल गौरिका अमेरिकामा अध्ययनरत छिन् । उनी उतैबाट वर्ल्ड च्याम्पियनसिप खेल्न जापान गएकी थिइन् ।
नेपाल ओलम्पिक कमिटीले केही दिन भित्रै १९ औं एसियन गेम्स खेल्ने सबै नेपाली खेलाडीको नाम सार्वजनिक गर्ने जनाएको छ । केही दिनअघि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले एसियन गेम्समा नेपालबाट २९ खेलका २३४ खेलाडीले सहभागिता जनाउने बताएका थिए ।
गौरिकासहित चार खेलाडीले जापानको फुकुवाकोमा भएको वर्ल्ड एक्वाटिक्स च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरेका थिए । जहाँ गौरिकाले ५० मिटर र १०० मिटर ब्याक स्ट्रोकमा प्रतिस्पर्धा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान समेत बनाएकी थिइन् ।
वर्ल्ड एक्वाटिक्स च्याम्पियनसिप २०२४ मा फ्रान्समा हुने पेरिस ओलम्पिकको लागि छनोट प्रतियोगिता समेत थियो । ओलम्पिकमा पौडी र एथलेटिक्सबाट युनिभर्सल कोटामा हरेक देशले भाग लिन पाउनेछन् । onlinekhabar