परासी, भदौं ६ । पश्चिम नवलपरासीको हुलाकी राजमार्ग निर्माणमा ढिलासुस्तीले स्थानीयलाई सास्ती खेप्नुपर्दा प्रतापपुर गाउँपालिकाले संघिय सरकारलाई पत्र लेखेर निर्माण काम तत्काल अघि बढाउन माग गरेको छ ।
प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले हुलाकी राजमार्गले दिँदै आएको सास्ती प्रति गाउँपालिकाको गम्भिर ध्यानकर्षण भएको भन्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद््को कार्यालय सिंहदरबारलाई पत्राचार समेत गरेको बताउनु भएको छ । पटक–पटक हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुलाई ताकेदा गर्दा पनि निर्माण काम अलपत्र पारेपछि संघीय सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सड्क विभाग, हुलाकी राजमार्ग निर्देशनालय बबरमहल काठमान्डौं, र लुम्बिनी प्रदेश सरकारलाई समेत पत्राचार गरिएको गाउँपालिका अध्यक्ष यादवले जानकारी गराउनु भएको छ । जिल्लाको नारायन चोकदेखि त्रिवेणी सम्म करिब पन्ध्र किलोमिटर सड्क निर्माणका लागि बज्रगुरु महालक्ष्मी जे.भि.कपुन्डोल कम्पनीले उन्नपचास करोड साठी लाखमा ठेक्का लिएको हो ।
२०७६ साल मंसिरमा ठेक्का लिएको उक्त कम्पनीले निर्माण कार्य २०७९ मंसिर मै सक्नुपर्ने थियो । तर हाल सम्म सड्क निर्माण सम्पन्न नहुँदा गण्डक तथा त्रिवेणी क्षेत्रका स्थानीयहरु हैरानी खेप्दै आएका छन् । त्रिवेणी धाम, सुस्ता र गण्डक क्षेत्रलाई सदरमुकाम संग जोड्ने मुख्य सड्क पनि हुलाकी राजमार्ग हो । तर ६ वर्षमा ५० प्रतिशत पनि काम नभएको स्थानीयहरु ले गुनासो गरेका छन् । बाटो निर्माणमा ढिलासुस्ती भएको काराले गर्मीमा धुलामय र वर्षायाममा हिलामय हुनेगरेको स्थानीय युवराज मौर्यले बताउनु भएको छ । गोपिगंजदेखि प्रतापपुर गाउँपालिका सम्म साढे ६ किलोमिटर हुलाकी सड्कमा खनिएको खाडलले गर्दा दुर्घटना समेत हुनेगरेको उहाँले बताउनु भयो ।
उक्त सड्कले स्थानीयलाई दिँदै आएको सास्तीलाई उद्त गर्दै गाउँपालिका अध्यक्ष यादवले संघ सरकारलाई पठाएको पत्रमा निर्माण कम्पनीले नसके गाउँपालिकालाई जिम्मेवारी दिएपछि चार महिनामै निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता समेत गर्नुभएको छ ।