परासी, माघ २४ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले वडा नं. ६ सनईमा रहेको नन्दनतालको आवश्यक पहलसहित संरक्षण एवं प्रवद्र्धनमा जुटेको छ ।
लामो इतिहास बोकेको तालको स्वरुप नै हराउँदै गएपछि ताललाई पुरौनै स्वरुपमा फर्काउनका लागि गाउँपालिकाले आवश्यक पहल सुरु गरेको छ । तालको संरक्षणमा ध्यान नदिदा तालको जग्गा अतिक्रमण हुँदै तालको अस्तित्व नै समाप्त हुन थालेपछि गाउँपालिकाले त्यसको संरक्षणका लागि सरोकारवालाहरु सँग छलफल गरेर पहल सुरु गरेको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताउनु भएको छ । उहाँले भन्नु भयो, ताललाई पुरानै स्वरुपमा फर्काउनका लागि गाउँपालिकाले पहल सुरु गरेको छ । विभिन्न समयमा तालेको सर्वेक्षण गरि डिपिआर समेत तयार गरेर अगाडि बढेका छौं ।’
नन्दन ताल करिब ८० बिघा क्षेत्रफलमा फैलिए पनि अतिक्रमणको चपेटमा परेर सानो घोला जस्तै बनेको छ । ताल क्षेत्रमा स्थानीयहरुले वर्षौदेखि खेतिपाती गर्दै आएका छन् । त्यसलाई व्यवस्थित गर्न सकिएको छैन । पटक–पटक ताल मासिँदै गएको विषयमा अवाज उठेपनि ताललाई पुरानै स्वरुपमा फर्काउन चुनौती नै रहेको छ । केही वर्ष अघिसम्म तालमा माछापालन हुँदै आएको थियो । जसका लागी ठेक्का समेत लाग्ने गरेकोमा पछिल्लो समय ताल अतिक्रमण भएपछि अस्तित्व संकटमा परेको हो वडा नं. ६ का वडाअध्यक्ष किशान यादवले बताउनु भएको छ । ताललाई तालकै अवस्था ल्याउनुपर्छ भनेर विभिन्न समयमा अवाजहरु उठेपनि संरक्षणको ठोस काम हुन नसकेर ताल हराउँदै गएको स्थानीय सन्दिप यादवले बताउनु भयो । उहाँले भन्नुभयो, “तालको वास्तविक क्षेत्रफलमा भएको अतिक्रमणलाई खालि गराउनका लागि मालपोत कार्यालय, नापी कार्यालय तथा जिल्ला प्रशासनको पनि पहल कदमी आवश्यक छ ।”
नन्दनतालको संरक्षण र प्रर्वद्धन गर्न सके जिल्लाको पर्यटन विकासमा टेवा पुग्ने गाउँपालिकाले जनाएको छ । नवलपरासीको इतिहाससँग जोडिएको नन्दनतालको अस्तित्व संरक्षणका लागि सबैको सहयोग अपरिहार्य गाउँपालिकाले आग्रह समेत गरेको छ ।