परासी, असाेज १४ । पश्चिम नवलपरासीको पृथ्वीचन्द्र अस्पतालका मेडिकल निमित मेडिकल सुपरिटेन्डेट (मेसु) डा. मोहम्मद नुरुल होदाले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल संग स्वास्थ्य उपकरणको माग गर्नु भएको छ ।
पश्चिम नवलपरासीको बर्दघाटमा ट्रमा सेन्टरको शिलान्यास कार्यक्रममा आउनु भएको स्वास्थ्यमन्त्री पौडेललले जिल्ला अस्पतालको पनि अवलोकन तथा निरीक्षण गर्नु भएको थियो । सोही समय अस्पतालका मेसु डा. होदाले पत्रसहित चार वटा उपकरणको माग गर्नु भएको हो । जिल्ला स्थित अस्पतालमा स्वास्थ्य सम्बन्धि उपकरणको अभाव छ । अस्पतालमा आवश्यक चिकित्सक जनशक्तिहरु उपलब्ध भएपनि उपकरणको अभावमा सेवाहरु दिन नसकिएको डा. होदाले भन्नु भयो । उहाँले भन्नु भयो, “अस्पतालको लागि चारवटा उपकरणहरु माग गरिएको छ । अर्थोपेडिक (हाडजोर्नी शल्यक्रिया)का लागि सि–आमन उपकरण, जेनरल एनेस्थेसिया उपकरण, लेप्रोस्कोपी शल्यक्रिया उपकरण र कान शल्यक्रिया उपकरण गरि चार वटा माग गरिएको छ ।” अस्पतालमा अर्थोपेडिक उपकरण भएपनि पुरानो भएकोले त्यो पनि माग गरिएको, उहाँले भन्नु भयो । अस्पतालका लागि नयाँ बनेको भवनबाट सेवाहरुलाई थप प्रभावकारी बनाउनका लागि उपकरण माग गरिएको भन्नु भयो । उहाँका अनुसार अकास्मिक शल्यक्रिया (ईमर्जेन्सी ओ.टी.) र अतिरिक्त शल्यक्रिया (सिडियोल ओ.टी.) गरि सेवा दिनका लागि तयारी भईरहेको छ ।
अस्पताल चौबिस घण्टे सेवालाई थप प्रभावकारी बनाउनका लागि आवश्यक तयारीमा जुटेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र गुप्तालले बताउनु भएको छ । अस्पतालमा अहिले अर्थोपेडिक सर्जन, जेनरल सर्जन र इयन्बी सर्जन लगायतका चिकित्सकहरु रहेको अस्पतालले जनाएको छ । पछिल्लो समय अस्पतालमा सेवा लिनेहरुको आकर्षण समेत बढेको छ । थप सेवा सहित व्यवस्थापन पक्षमा भएको सुधारले अस्पतालमा सेवाग्राहीहरुको भिड लाग्ने गरेको अस्पतालले जनाएको छ ।