परासी, वैशाख १८ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीका पूर्वअध्यक्ष स्वर्गीय पत्रकार कृष्णवहादुर कार्कीलाई मरणोपरान्त पत्रकारिता पुरस्कारले सम्मान गरिएको छ ।
सोमवार महासंघले शाखाको १४औं अधिवेशन र २४औं साधारण सभामा पत्रकार कार्कीलाई पुरस्काले सम्मान गरेको छ । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले स्वर्गीय पत्रकार कार्कीका जेष्ठ छोरा नारायण कार्कीलाई नगद एघाह्र हजार एक सय एघाह्र रुपैया, सम्मानपत्र र दोसल्ला सहित सम्मान गर्नु भएको हो । पत्रकार कार्कीले महासंघ जिल्ला शाखाको संस्थागत विकास र पत्रकारिता क्षेत्रमा धेरै योग्दान पुर्याएको भन्दै सम्मान गरिएको हो । उहाँ नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीको जग्गा व्यवस्थापन र भवन निमार्णमा ठुलो योग्दान गर्नुभएको हो ।
कार्कीकै पहलमा रामग्राम नगरपालिकाबाट जग्गा प्राप्त गरी राजधानी बाहिर नेपालमै पहिलो जिल्ला शाखाका रुपमा पत्रकार महासंघको भवन निर्माण गरिएको शाखाका अध्यक्ष हरि शर्माले बताउनु भएको छ । उहाँले भन्नु भयो ‘जिल्ला शाखाले यस वर्षदेखि जिल्लाको पत्रकारिता क्षेत्रमा योग्दान पुर्याउने पत्रकारको मूल्यांकन गर्दै अधिवेशन हुने वर्षमा एकजना पत्रकारलाई नवलपरासी पत्रकारिता पुरस्कारले सम्मान गर्ने निर्णय गरिएको छ ।’ सोही निर्णय अनुसार महासंघले अधिवेशनको अवसर पारेर पत्रकार कार्कीलाई पुरस्कारले सम्मान गरेको उहाँले बताउनु भयो ।
पत्रकार कार्की पत्रकार महासंघ जिल्ला शाखाको तीन कार्यकालसम्म अध्यक्ष भएर काम गर्नु भएको थियो । २०४५ सालदेखि दैनिक लुम्बिनीमा आवद्ध रहनु भएका पत्रकार कार्की ७३ वर्षको उमेरसम्म पनि पत्रकारिता पेशामा क्रियाशिल रहँदै आउनु भएको थियो । पत्रकार कार्कीको ७३ वर्षको उमेरमा २०६८ साल माघ १३ गते निधन भएको थियो ।