सुर्खेत, कात्तिक ४ । देशभर दसैँको रौनक चलिरहेको छ । अध्ययन, रोजगारी तथा अन्य पेशा व्यवसाय गर्न घरपरिवारसँग छुट्टिएकाहरू घर पुगिसकेका छन् भने, कोही यात्राकै क्रममा छन् ।
दसैँ मनाउन एक साताको अवधिमा २६ हजार नागरिक कर्णालीको राजधानी वीरेन्द्रनगरबाट बाहिरिएका छन् । घटस्थापनादेखि फूलपातीसम्म वीरेन्द्रनगरबाट सार्वजनिक सवारीसाधन प्रयोग गरेर बाहिरिने नागरिकको संख्या २६ हजार ४२० रहेको छ, भने प्रदेश भित्रनेको संख्या २४ हजार चार सय रहेको छ ।
वीरेन्द्रनगर कर्णालीका दशवटै जिल्लाको आर्थिक, राजनीतिक, प्रशासनिक र शैक्षिक हब भएकाले पनि ठूलो संख्यामा बाह्य जिल्लाका नागरिकहरू बस्दै आएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले उपलब्ध गराएको यो तथ्यांक सार्वजनिक सवारीसाधन प्रयोग गर्नेहरूको मात्र हो । पारिवारिक रिजर्व, निजी तथा सरकारी सवारीसाधन प्रयोग गर्नेहरूको तथ्यांक भने प्रहरीसँग छैन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक देवेन्द्र बुढाथोकीले घटस्थापनादेखि नागरिक बाहिरिने क्रम बढेकोमा फूलपातीका दिनबाट वीरेन्द्रनगर छाड्नेहरूको संख्यामा कमी आएको बताए ।
‘हिजो–अस्तिसम्म निकै प्रेसर नै थियो, आजदेखि विस्तारै कम भइरहेको छ,’ बुढाथोकीले भने, ‘ दसैँ मनाउन जानेहरू अधिकांश गाउँ फर्किसकेको देखिन्छ ।’
मान्छेहरू गाउँ जान थालेपछि राजधानी वीरेन्द्रनगर भने सुनसान बनेको छ । टिकाको दिन आउन केही दिन रहेकाले प्रदेश बाहिरिने नागरिको संख्या अझै बढ्ने प्रहरीको अनुमान छ । शिलापत्र अनलाइनबाट