काठमान्डौ, २३ साउन । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सय किलो सुन प्रकरणको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई दिनुपर्ने बताएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यो प्रकरणको छानबिनका लागि समिति गठन गर्न माग गरिरहेको सन्दर्भमा श्रेष्ठले मंगलबार प्रतिनिधिसभामा यस्तो जवाफ दिएका हुन् । उनले राज्यका निकायलाई विश्वास गर्नुपर्नेमा जोड दिए ।
यो प्रकरणको राजस्व अनुसन्धान विभागले २० दिनसम्म अनुसन्धान गरेर सीआईबीलाई फाइल बुझाएको जानकारी दिए । संगठित अपराधको मुद्दामा अनुसन्धानका लागि ६० दिन हुनेमा अब सीआईबीसँग यो प्रकरणको अनुसन्धानका लागि ४० दिन म्याद रहेको बताए ।
त्यसमा पनि सरकारी वकिलको कार्यालयमा पाँच दिनसम्म अभियोजनको प्रक्रिया चल्न सक्ने भएकाले ३५ दिनभित्रै सीआईबीले अनुसन्धान सक्ने श्रेष्ठको भनाइ छ । उक्त अवधिमा पनि सीआईबीले कसैलाई जोगाउन खोजेको ठाने नयाँ सिराबाट अगाडि बढ्न सकिने बताए ।
यसअघि सुन तस्करी प्रकरणको अनुसन्धानका लागि समिति गठन गरिएको प्रसँग उठाउँदै श्रेष्ठले तर, उक्त समितिले ३३ किलो सुनमध्ये एक ग्राम पनि फेला पार्न नसकेको बताए ।