काठमाडौँ, चैत २ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन बुझाउनु भएकाे छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर गृहमन्त्री लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री प्रचण्डलाई बुझाउनु भएकाे हाे ।
यसैविच प्रधानमन्त्री प्रचण्डले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न उपप्रधानमन्त्री लामिछानेलाई निर्देशन दिनुभएको छ । आयोगको प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदनले औँल्याएका सिफारिस कार्यान्वयनको सुनिश्चितता गर्न निर्देशन दिनुभयो ।
प्रधानमन्त्री दाहालले दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउनसमेत निर्देशन दिनुभएको उपप्रधानमन्त्री लामिछानेको सचिवालयले जनाएको छ । उहाँले प्रतिवेदनले औँल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडि बढाउन निर्देशित गर्नुभएको छ ।