काठमाडाैं, ८ असार | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिमानाको सुरक्षाको लागि सरकार संवेदनशील रहेको बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य अशोककुमार चौधरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले देशको सिमानाको सुरक्षामा सरकार संवेदनशील रहेको बताएका हुन् ।
उनले देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकतालगायत राष्ट्रिय हितको रक्षाको लागि पनि सरकार सम्वेदनशील र प्रयत्नशील रहेको बताए । अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई थप सबल, सदृढ र प्रभावकारी बनाउन सीमा स्तम्भहरूको नियमित मर्मत, सम्भार गर्दै जाने विषय सरकारको प्राथमिकतामा रहेको उनले बताए । त्यस्तै बोर्डर आउटपोष्टहरूको सुदृढीकरण र थप स्थानमा आउटपोष्ट निर्माण गर्दै जाने विषय सरकारको उच्च प्राथमिकतामा रहेको उनको भनाइ छ । प्रधानमन्त्री दाहालले चालू आर्थिक वर्षमै १० वटा बोर्डर आउटपोष्टहरू निर्माण सम्पन्न हुने पनि बताए । source-lokantar