परासी, पुष ९ । पश्चिम नवलपरासीमा प्रहरीले घरहरुमा चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ । जिल्लाको सुनवल नगरपालिकाको विभिन्न घरहरुमा श्रृखंलाबद्ध रुपमा चोरी गर्ने चोरहरु लाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा बर्दघाट नगरपालिका १ घर भई हाल सुनवल नगरपालिका वडा नं. ३ खैरहनी बस्दै आएका २१ वर्षिय अविनाश पंगेनी, सोही ठाँउ बस्दै आएका गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ९ का १९ वर्षिय सुवास विश्वकर्मा र रोल्पा जिल्लाको खुमेल गाँउपालिका ३ का हाल सुनवलको खैरहनीमै बस्दै आएका १९ वर्षिय मिलन घर्तिलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताउनु भएको छ । उनिहरुले सुनवल नगरपालिका भित्रका विभिन्न घरहरु श्रृखंलाबद्ध रुपमा चोरी गर्दै आएका थिए । उनिहरु घर भित्र रहेको विभिन्न कम्पनीका मोबाईलहरु, घडि, चाँदीको बाला, तामाको भाडा, ग्यास सिलिण्डर, ग्यास चुलो, इलेक्ट्रोनिक जग लगायतको समानहरु चोरी गरेका थिए ।
यस्तै जिल्लास्थित जनस्वास्थ्य कार्यालयमा कम्प्युटर र साईकल चोरी गर्ने गिरोहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनिहरु ले उक्त कार्यालयबाट कम्पयूटर र साईकल गरी १ लाख १३ हजारको समान चोरी गरेको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बोहराले भन्नु भयो । पक्राउ पर्नेमा जिल्लाको रामग्राम नगरपालिका वडा नं. ६ पोखरापाली बस्ने वर्ष १९ को कृष्णमोहन अग्रहरी बनिया सोही नगरपालिका वडा नं. ५ बस्ने २७ वर्षिय अमृत अग्रहरी र रामग्राम नगरपालिकाकै वडा नं. ७ बस्ने ३१ वर्षिय रोशन आचार्य रहेका छन् ।