काठमान्डाैं, मंसिर २२ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित एक जना पक्राउ परेका छन् । गोरखाका चन्द्र घलेलाई बिहीबार राति १४ किलो सुनसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो ।
उनी फ्लाइ दुबईको फ्लाइटबाट बिहीबार राति काठमाडौं उत्रेका थिए । घलेले सुनको प्लेट बनाएर शरीरमा राखेर सुन ल्याएका थिए । सुराकीको आधारमा उनलाई पक्राउ गरिएको बताइएको छ ।
कार्यालयका भन्सार अधिकृत रमेश कुँवरले घलेले छातीको दायाँबायाँ कपडामा बेरेर लुकाइछिपाई ल्याएको सात थान बिस्कुट आकारको १४ किलोग्राम सुनसहित पक्राउ गरिएको जानकारी दिए ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले घलेको सूचनाका आधारमा थप एक जनालाई पक्राउ गरिएको बताए । पक्राउ परेका घलेलाई निकासी पैठारी नियन्त्रण ऐन, २०१३ र भन्सार ऐन २०६४ अन्तर्गत भन्सार महसुल छली तथा चोरी पैठारी कसुर गरेकाले थप अनुसन्धानका लागि कार्यालय खुलेसँगै त्रिभुवन विमानस्थल कार्यालय गौचरनमा बुझाउने गरी प्रहरी प्रभाग कोटेश्वरको जिम्मा लगाएको छ ।
उनको साथबाट बरामद भएको सुन गोरखाका मीनबहादुर घलेको भएको खुलेपछि उनलाई पनि बिहीबार राति नै धुम्बाराहीबाट पक्राउ गरिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए । अाज शिलापत्रमा छापिएकाे छ ।