काठमाडौं, माघ २५ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न बढी इच्छुक हुँदै गएको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा बसेको तेस्रो लगानी सम्मेलन २०८१ को निर्देशक समितिको तेस्रो बैठकमा बोल्नुहुँदै मन्त्री महतले यस्तो दाबी गर्नुभएको हो ।
मन्त्री महतले विगतमा विदेशी लगानी कर्ताहरु नेपाल आफैँ सम्पर्कम जाँदा समेत उदासीन हुने गरेको भए पनि अहिले लगानी गर्न आफैँ खोज्दै आइरहेको बताउनुभयो । उहाँले विदेशी लगानीकर्ताहरु इच्छुक भइरहेको समयलाई नेपालले उपयोग गर्न सक्नुपर्ने जिकिर गर्नुभयो ।
उहाँले वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनलाई ग्राण्ड सक्सेस बनाउन आग्रह गर्नुभयो । अर्थमन्त्री महतले विश्व बैंकको सहुलियत दरमा ऋण दिने संस्थाको सम्मेलन नेपालमा गर्न विश्व बैंक तयार भएको र केही दिनमै औपचारिक पत्र आउने बताउनुभयो । उहाँले सो सम्मेलन नेपालमै हालसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन हुने जानकारी दिनुभयो ।
‘‘अहिले अन्तर्राष्ट्रिय समुदायमा पनि नेपालमा लगानी गर्नुपर्छ भनि स्वभाविक जिज्ञासा रहेको छ । उनीहरुले नै सोधिरहेका छन् । सामान्यतया यस्तो हुँदैन । हामी सम्पर्कमा जाँदा पनि उहाँहरु उदासिन देखिनुहुन्थ्यो । अहिले एउटा विशिष्ट किसिमको वातावरण बनिरहेको अवस्थामा हामीले यसलाई उपयोग गर्नुपर्छ । यसमा हामी सबै गम्भीर रुपमा लागेर यसलाई ग्राण्ड सक्सेस बनाऔँ । जुनमा वर्ल्ड बैंकका सहुलियत दरमा ऋणमा दिने संस्था छ । त्यसको सम्मेलन नेपालमा गर्नको लागि वर्ल्ड बैंक तयार भएको अवस्था छ ।,’’ मन्त्री महतले भन्नुभयो, ‘‘औपचारिक चिठी पनि केही दिनमा आउँछ । अहिलेसम्म नेपालमा भएको सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय सम्मेलन त्यो हुँदैछ । ९२ भन्दा बढी देशको प्रतिनिधित्व हुन्छ । वल्र्ड बैंकका प्रेसिडेन्ट लगायतको उपस्थिति हुन्छ र अन्य महत्त्वपूर्ण संस्को उपस्थिति हुन्छ । त्योभन्दा अघि हामी लगानी सम्मेलन पनि वैशाख १६ र १७ गते गर्दैछौँ ।’’
मन्त्री महतले सो सम्मेलनमा ९२ देशका प्रतिनिधि, वर्ल्ड बैंकका प्रमुखको उपस्थिति हुने बताउनु भयो । लगानी सम्मेलनलाई सफल बनाउनसके फाइदा हुने बताउनुभयो । उहाँले सुरुवातामा कर र कण्डिसनलाई केही सहज बनाएर लगानी गर्न दिनुपर्ने बताउनुभयो । लगानी सम्मेलनले नेपाली लगानी कर्तालाई पनि उत्साहित बनाउन जरुरी रहेको उहाँ बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, ‘‘यो उपलब्धिमुलक बनाउँदा नेपालमा बृहत् मल्टिल्याटर, बाइल्याटर मात्रै होइन, निजी लगानीको दायरा पनि व्यापक रुपमा बढ्ने सम्भावना छ । यसमा हामीले अलिकति छाती फाराकिलो गर्नुपर्ने आवश्यकता छ । लगानी आयो भने त्यसबाट लिने हो । आउँदै आएन भने के लिने ? त्यसकारण अहिले हामीले ट्याक्सका कुरा गर्छौं, यो कण्डिसन राख्नेकुरा गर्छौं, उ कण्डिसन राख्ने गर्दछौँ । आउन दिनुपर्छ । जस्तो युएईले पहिला ट्याक्स लिएन सबै आए । अहिले ट्याक्स लगाउँदा कोही पनि छोडेर जानेवाला छैनन् । त्यस्तै माहोल नेपालमा बनाउसक्छौँ । नेपाली लगानी कर्तालाई पनि उत्साहित गर्न जरुरी छ ।’’
यसैगरी, नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले लगानी सम्मेलनलाई सहज बनाउन लगानी सम्मेलनका लागि केही नेपाल ऐन संशोधन भनेर अघि बढाइ संसदबाट पास गर्नुपर्ने बताउनुभयो । उहाँले लगानीलाई सहजीकरण गर्ने सम्बन्धमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकका रुपमा अघि बढाउनसके लगानी सम्मेलनमा सहजता आउने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘हाम्रो प्रस्ताव अब यसलाई इण्डिभिजुअल कानुन र इण्डिभिजुअल मन्त्रालयले उठाएर त्यसपछि मन्त्रिपरिषदमा लगेर, निर्णय प्रक्रियामा लगेर संसद् बैठकमा गयो भनेदेखि एक वर्षमा पनि पार लाग्दैन कि जस्तो लाग्छ । लगानी सम्मेलनका लागि केही नेपाल ऐन संशोधन भनेर भन्नुपर्छ । लगानीलाई सहजीकरण गर्ने सम्बन्धमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक भनेर केही लैजान सकियो भने राम्रो हुन्छ । लगानीसँग सम्बन्धित बेसिकल्ली उद्योग मन्त्रालय हुन्छ । उद्योग मन्त्रालयले यो विषय इनिसेटिभ गरेर लैजान सकियो भने एकै पटक पास गर्न सकिन्छ ।’’
बैठकमा निर्देशक समिति बैठकको निर्णय कार्यान्वयन प्रगति सम्बन्धमा भएका कामकारबाहीको बारेमा जानकारी गराइएको थियो । साभारः गाेरखापत्र दैनिक अनलाइन https://gorkhapatraonline.com/news/95754