काठमान्डाैं, माघ १२ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजस्व उठ्न नसकेको बताएका छन् ।
शुक्रबार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महतले राजस्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको बताए । राजस्व केही वृद्धि भए पनि लक्ष्यअनुसार उठ्न नसकेको महतको भनाइ छ ।
‘अहिले हामी राजस्वको दृष्टिकोणबाट अझै धेरै दबाबमा छौँ । राजस्व केही वृद्धि भएको छ । तर, हामीले जुन लक्ष्य निर्धारण गरेका थियौँ, त्योअनुसार हुन सकेको छैन,’ अर्थमन्त्री महतले भने ।
राजस्व संरचनामा परिवर्तनका कारण र लक्ष्यअनुसार उठ्न नसकेको उनले बताए । व्यवसायलाई अनलाइन प्रणालीमा ढाल्न नसके सबै किसिमका व्यवसायलाई हेर्न नसकिने महतको भनाइ छ । आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयले आफूलाई प्रविधिमैत्री बनाउँदै लैजान जरुरी रहेको उनले बताए ।
‘राजस्व संरचनामा परिवर्तन आइरहेको छ । डिजिटल युगमा संसारै अगाडि बढेको छ, हामी पछि पछ्याउँदै छौँ । यो डिजिटलाइजेसनको सँगसँगै अब ट्रान्जेक्सन व्यवसाय गर्ने शैली परिवर्तन भइसकेको छ । हामीले पनि आफ्नो शैलीलाई, तौरतरिकालाई त्यहीअनुसार नढाल्ने हो भने हामी यो सबै खाले डिजिटलबेस व्यवसाय छ, त्यसलाई क्याप्चर गर्न सक्दैनौँ,’ उनले भने ।
विद्युतीय सवारीसाधनहरूको आयात इन्धनमुखी सवारीको भन्दा दोब्बर बढी भएकाले पनि भन्सार राजस्व कम उठेको उनले तर्क गरे । इन्धनमुखी सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको भन्सार न्यून राखेकाले पछिल्लो आँकडामा ३४/३५ अर्ब कम भन्सार राजस्व उठेको उनको दाबी छ ।
‘हिजो गाडी आयात इन्धनमा आधारित थियो । पेट्रोल र डिजेलमा आधारित थियो । अहिले ईभीको आयात इन्धनमा आधारित गाडीहरूको भन्दा डबल नै भएको छ,’ महतले भने, ‘यो पछिल्लो समयमा र हामीले ईभीलाई प्रमोट गर्ने हिसाबले अत्यन्त न्यून, इन्धनबेस भेहिकलको तुलनामा न्युन भन्सार दर राखेका छौँ । त्यसले गर्दा मात्रै अहिलेकै पछिल्लो आँकडामा ३४/३५ अर्ब कम भन्सार राजस्व उठेको छ ।’ शिलापत्र अनलाइनबाट साभार