एजेन्सी । भारतीय क्रिकेट टिमका मुख्य प्रशिक्षक गौतम गाम्भीरले भारतीय स्टार क्रिकेटर रोहित शर्मा र विराट कोहलीका बारेमा आफ्नो प्रतिक्रिया दिएका छन् ।
हालै सम्पन्न टी– २० विश्वकपलगत्तै शर्मा, कोहली र रविन्द्र जडेजाले टी– २० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका थिए । भारतले यस वर्ष शर्माको कप्तानीमा विश्वकप जितेको थियो ।
मुख्य प्रशिक्षकमा गाम्भीर नियुक्त भएसँगै धेरैले शर्मा र कोहलीमाथि दबाब बढ्ने आशंका गरेका थिए । धेरैको चासो रहेको सो विषयमा गाम्भीरले भारतीय टिमको श्रीलंका भ्रमणअघि आफ्नो प्रतिक्रिया दिएका हुन् । श्रीलंका भ्रमणका क्रममा टी– २० फर्म्याटको कप्तानी सूर्यकुमार यादव र एक दिवसीयको कप्तानी रोहित शर्माले गर्नेछन् ।
शर्मा र कोहलीका बारेमा गाम्भीरले टिप्पणी गर्दै भनेका छन्- उनीहरू दुवैले सन् २०२७ सम्म आफ्नो फिटनेस कायम राख्न सक्छन् ।
गाम्भीरले भनेका छन्- रोहित शर्मा र विराट कोहलीले के दिन सक्छन् भने २० र ५० ओभरको विश्वकपले देखाइसकेको छ । मलाई लाग्छ उनीहरूमा अझै धेरै क्रिकेट बाँकी छ । खासगरी च्याम्पियन्स ट्रफी तथा अस्ट्रेलिया टुरका लागि ।
गाम्भीरले यसबारे निर्णय भने रोहित र विराटको हुने पनि बताएका छन् । गाम्भीरले भनेका छन्- उनीहरू धेरै उत्प्रेरित छन् र सन् २०२७ को विश्वकपसम्म आफ्नो फिटनेस कायम राख्न सक्छन् । उनीहरूमा कति क्रिकेट बाँकी छ भनेर म भन्न सक्दिनँ । यो पूर्ण रूपमा उनीहरूमा निर्भर छ ।
विराट र रोहित दुवै विश्वस्तरीय खेलाडी रहेको उल्लेख गर्दै गाम्भीरले कुनै पनि टिमले सम्भव भएजति लामो समय उनीहरूलाई आफ्नो साथमा राख्न चाहने पनि प्रतिक्रिया दिए ।