रूपन्देही, चैत्र ७ । रुपन्देहीकाे सिद्धार्थनगर नगरपालिका वडा नं ८ को परीक्षा केन्द्र लीलाराम न्यौपाने माध्यमिक विद्यालयमा चलिरहेकाे एसइई परीक्षामा एक नक्कली परीक्षार्थी फेला परेका छन् ।
परीक्षा केन्द्रका प्रमुखरूप कुमार रायमाझीका अनुसार परीक्षा चलिरहेको बेला प्रवेश पेपरमा हस्ताक्षर गर्न जाने बेला प्रवेश पत्रमा भएको तस्बिर र परीक्षार्थीको अनुहार नमिले पछि सोधपुक्ष गर्दा नक्कली विद्यार्थी भएको पाइएको हो ।
रायमाझीले भन्नुभयो, तिलोत्तमा नगरपालिका स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा ११ कक्षामा अध्ययनरत एक विद्यार्थी सिद्धार्थनगर नगरपालिकामा रहेको सु संस्कृत माध्यमिक विद्यालयका एक विद्यार्थीको परीक्षा दिनका लागि आएको पाइएको छ । रायमाझीले थप्नुभयो, “ग्रेड वृद्धिको परीक्षा आज मात्र रहेछ उक्त विद्यार्थीको, त्यसमा नक्कली परीक्षार्थी प्रयोग भएको पाइएपछि रद्द गरिएको छ” ।
जिल्ला शिक्षा समन्वय इकाई रुपन्देही प्रमुख माधव बन्जाडेले पनि एक जना नक्कली परीक्षार्थी फेला परेको र अन्य स्थानमा शान्तिपूर्ण ढङ्गले परीक्षा चलिरहेको बताउनुभयो ।
रुपन्देहीमा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको नेतृत्वमा खटिएको सुरक्षा निकायका प्रमुखहरूको टोलीले परीक्षा केन्द्रको अनुगमन गरिरहेको छ । घिमिरेका अनुसार परीक्षा शान्तिपूर्ण ढङ्गले चलिरहेको छ ।
रुपन्देही जिल्ला बाट २२ हजार ९ सय ७५ विद्यार्थी परीक्षामा सहभागी भएका छन् । माध्यमिक शिक्षा परीक्षा २०८१ मा साधारण नियमित तर्फ १७ हजार ५ सय १८ र ग्रेड वृद्धि ४ हजार ९ सय ३९ जना रहेका छन् । प्राविधिक तर्फ नियमित ४ सय ३ जना, ग्रेड वृद्धि १ सय १५ जना गरी २२ हजार ९ सय ७५ रहेका छन् । गत वर्षको तुलनामा यस वर्ष ३ हजार २ सय ८० विद्यार्थी बढी रहेका छन् ।
१७६ वटा सामुदायिक विद्यालय र १७० संस्थागत गरी जम्मा ३ सय ४६ विद्यालयहरूका विद्यार्थीहरूको एसइई परीक्षामा सहभागिता रहेका छन् । जसमा सबै भन्दा धेरै परीक्षार्थीहरू रहेको परीक्षा केन्द्रः गीर्वाण संस्कृत तथा साधारण मावि मणिग्राम र शान्ति नमुना मा वि मा ६ सय ५८, सबै भन्दा सानो परीक्षा केन्द्रः नवरत्न मावि सेमलार बुटवल रहेको छ । Gorkhaptra online