काठमाडौं, फागुन २९ गते । राष्ट्रिय सभा अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का सांसद नारायणप्रसाद दाहाल निर्वाचित हुनुभएको छ । उहाँ ३९ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
दाहालको पक्षमा पक्षमा जम्मा ३९ मत र विपक्षमा १७ मत परेको थियो । मतदानमा ५६ जना सांसद उपस्थित रहेका थिए ।
उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्माले १७ मत प्राप्त गर्नुभयो । यो संख्या राष्ट्रिय सभामा तत्काल कायम रहेको संख्याको बहुमत रहेको उल्लेख गर्दै सभाध्यक्ष उर्मिला अर्यालले दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएको घोषणा गर्नुभएकाे हाे । राष्ट्रिय सभामा नेपाली कांग्रेसको १६ मत रहेको छ । कांग्रेसलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को एक मत परेको छ ।
राष्ट्रिय सभामा हाल ५८ सदस्य कायम छन् । राष्ट्रिय सभामा अध्यक्ष पक्ष पदको निर्वाचनमा राष्ट्रिय जनमोर्चाका सांसद टुलप्रसाद विश्वकर्मा अनुपस्थित रहनु भयो भने राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले बैठकको अध्यक्षता गर्नुभएकाले मतदान गर्नु भएन । कुल ५९ सदस्यीय राष्ट्रिय सभामा एक सांसदको मनोनयन हुन बाँकी छ । नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुन बाँकी रहेको छ ।