परासी, वैशाख ४ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले हरियाली (ग्रिनरी) क्षेत्रमा मापदण्डविपरीत सिमेन्टका ब्लक बिछ्याएको छ ।
सदरमुकाम परासीलाई हरित नगरी बनाउने उद्देश्यले सडकको दायाँ÷बायाँ दुई छेउमा ग्रिनरीसहितको संरचना रहने गरी सडकको स्टिमेट र डिजाइन गरिएको थियो । संघन सहरी तथा पूर्वाधार विकास आयोजना चितवनअन्तर्गत सदरमुकाम प्रवेशद्धारको निलो गेटदेखि बुद्धचोकसम्मको करिब डेढ किलोमिटरको सडक स्तरन्नोत्ति गर्न उक्त डिजाइन र स्टिमेट गरिएको हो । तर, डिजाइनअनुसार काम नभएपछि नगरपालिकाले आयोजनाको कामलाई हस्तक्षेप मात्र होइन नगरको सुन्दरतालाई समेत कमि ल्याएको प्राविधिकहरुले बताएका छन् । सडक डिजाइनअनुसार ५०÷५० फिट फोरलेन सडकको दुबैतर्फ नाला, फुटपात, ग्रिनरी र बाटोको बीचमा सोलार बत्ति जडान गर्ने उल्लेख रहेको आयोजना कार्यालय नवलपरासीका इन्जिनियर विरेन्द्र मण्डलले जानकारी दिनुभएको छ । सोही स्टिमेटअनुसार आयोजनाले ग्रिनरी क्षेत्र छुट्टाएर बृक्षारोपणसमेत गरेको थियो । तर, नगरपालिकाले आयोजनाको कामलाई हस्तक्षेप गरेर सडक हस्तान्तरण नगर्दै बृक्षारोपण (ग्रिनरी) हटाएर ब्लक बिछ्याएको हो । ग्रिनरीले बाटोको तापक्रमलाई व्यवस्थापन गर्दै पानी रिचार्जसमेत गर्ने भएकाले स्टिमेटमा ग्रिनरी बनाउने उल्लेख गरिएको इन्जिनियर मण्डलले जानकारी दिनुभयो ।
हरियालीसहित सडक निर्माणका लागि २०७४ सालमा आयोजनाले महालक्ष्मी÷सुनकोसी÷वर्लडवाईज जे.भी. काठमाण्डौंलाई ठेक्कामार्फत सडक निर्माणको जिम्मेवारी दिएको थियो । सबै संरचनाहरु निर्माण भएपनि प्रावधानअनुसार अहिलेसम्म नगरपालिकालाई सडक हस्तान्तरण भएको छैन । सडक हस्तान्तरण नहुँदै नगरपालिकाले ग्रिनरी भत्काएर ४७ लाखको लागतमा ब्लक बिछ्याएको हो । नगरपालिकाले गत आवको बैशाख २० गते सुमित कन्सट्रक्सन एण्ड सप्लायर्सलाई ४७ लाख ४१ हजार नौ सय ६३ रुपैयाँ (भ्याटसहित) मा ठेक्कामार्फत ब्लक बिछ्याउनका लागि जिम्मेवारी दिएको रामग्राम नगरपालिकाका सव इन्जिनियर महेश्वर ठाकुरले बताउनुभएको छ । ब्लक बिछ्याउने ठेकेदारले नगरपालिकाबाट अहिलेसम्म ३५ लाख ८२ हजार भुक्तानी लगिसकेको सव इन्जिनियर ठाकुरले जानकारी दिनुभयो । सडकको दायाँ÷बायाँ छेउमा रेलिङ र पैदल यात्री हिड्ने सडक पेटीको बीच भागमा बृक्षारोपण गरी हरियाली गर्नुपर्ने भएपनि स्टिमेट र डिजाइन नै फेल हुने गरी ब्लक बिछाएको भन्दै स्थानीयले आलोचना गरेका छन् । विकास निमार्णको कार्य सम्पन्न भएर हस्तान्तरण नभएसम्म त्यसरी संरचना भत्काएर अन्य कार्य गर्न नमिल्ने संघन सहरी तथा पूर्वाधार विकास आयोजना चितवनका प्रमुख झपट बहादुर थापाले बताउनुभयो । ठेकेदारले गर्नुपर्ने सबै काम सकेर नगरपालिकालाई सडक हस्तान्तरणका लागि पत्र बुझाएको छ । तर, नगरपालिकाले हालसम्म उक्त पत्रलाई स्वीकृत नगरेको थापाले बताउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन आर्यालले सडकमा अधुरो काम देखिएकाले पूरा गरेको दाबी गर्नुभयो । नगरपालिकाका इन्जिनियर माधव न्याैपानेले ग्रिनरी बनाउने आयोजनाको उक्त कामलाई हस्तक्षेप गर्न नमिल्ने बताउनुभयो । आयोजनाको कामलाई हस्तक्षेप गर्न नमिल्ने भएपनि उक्त शिर्षकमा नगरपालिकाले रकम छुट्टाएकाले बजेटलाई कार्यान्वयन गरेको बताउँदै अरु विषय कोट्याउन चाहानुभएन ।