मंसिर २८, परासी । रामग्राम नगरपालिकाले नमुना युवा नगरसभा सुरु गरेको छ । युवाहरुलाई स्थानीय तह सञ्चालन बारे शैद्धान्तिक तथा व्यवाहारिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले नमुना युवा नगरसभा अन्तर्गत प्रशिक्षण तथा अभ्यास कार्यक्रम बिहिवारबाट वडा नं. १२ को सभाहलमा सुरु भएको हो ।
तीन दिन प्रशिक्षण र २ दिन नमुना नगरसभा बारे अभ्यास गराईने उक्त कार्यक्रमको आज रामग्राम नगरपालिकाका उपप्रमुख सम्झना चौधरीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको छ । उक्त कार्यक्रममा सहजीकरण गर्ने न्यायिक सरोकार संस्थाका अध्यक्ष मोहम्मद ईजहार शेषको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन सत्र कार्यक्रममा उपप्रमुख चौधरीले स्थानीय सरकारको संरचना र यसको अभ्यास बारे युवाहरुलाई जानकारी हुन आवश्यक भएकोले नगरले यस्तो कार्यक्रम राखेको बताउनु भयो । नमुना नगरसभाको प्रशिक्षणले स्थानीय सरकारबारे जानकारी भई विभिन्न भ्रम बारे समेत बच्न र अरुलाई सचेत गराउन सकिने उहाँको भनाई थियो ।
कार्यक्रममा रामग्राम नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख नगेन्द्र यादवले नगरपालिकाप्रति युवाहरुको अधिकार र कर्तब्य दुबै रहेकाले सचेत युवा भई व्यक्तित्व विकास र नगरपालिकालाई समेत योगदान गर्न आवश्यक रहेको बताउनु भयो । उक्त कार्यक्रममा वडा नं. १२ का कार्यबाहक वडाध्यक्ष पशुपति प्रसाद कोईरी, वडासचिव ललिता ढुङ्गेल, प्रशिक्षक राकेश गुप्तालगायतको उपस्थिति रहेको थियो ।
यस कार्यक्रम अन्तर्गत स्थानीय सरकारको निर्वाचन, नगरसभा र नगर कार्यपालिका गठन र यसको कामकारवाही बारे प्रशिक्षण दिई नमुना निर्वाचन समेत गरी नमुना जनप्रतिनिधिबाट नगर सभा सञ्चालन गरिने कार्यक्रमका प्रशिक्षक संदिप कुमार यादवले जानकारी दिनुभयो । नमुना युवा नगरसभा प्रशिक्षण तथा अभ्यास कार्यक्रममा समावेशी तरिकाले हरेक वडाबाट ३÷३ जना गरी ५४ जना र नगरपालिकाले छनौट गरेको ६ जना गरी ६० जना १६देखि २४ वर्ष भित्रको युवाहरुको सहभागिता रहेको छ ।