छत्तीस सालमा शाही राजनीतिक रङ्गमञ्चमा कमलपित्ते जनमतसंग्रहको कुटिल नाटकको मञ्चन भयो । कमलपित्ते खेलाडी जालझेलको गणितीय खेलमा त विजयी भयो, तर घर्षणमय अस्तित्वको प्रतिस्पर्धी यथार्थमा त्यो पराजयउन्मुख भयो । र, अभिव्यक्तिको फाँटमा ‘प्र’को उदय भयो ! यो ‘प्र’ को कथा बडो चाखलाग्दो छ ।
कमलपित्ते जनमतसंंग्रहअघि छापामा कांग्रेस वा कम्निस्ट लेख्न वर्जित थियो । अटेर गरी कसैले लेखे ऊ पक्राउ पर्ने, कुटिने र थुनिने खतरा थियो । जागेको जनमतको निर्मम धक्काले कमलपित्ते पञ्चायत गल्यो । र, अब अगाडि ‘प्र’ उर्फ प्रतिबन्धित राखेर कांग्रेस वा कम्निस्ट लेख्न पाइने भयो । आतङ्कित पञ्चायती राजमा अभिव्यक्तिको दायरा किञ्चित् फराकिलो भएको शुभसङ्केत थियो त्यो । त्यही ‘प्र’लाई पछ्याउँदै सुषुप्त ‘प्रगतिशील लेखक संघ’ ब्युँझिन जुर्मुरायो ।
तिनताक म चितवनमा मास्टरीको आवरणमा थिएँ । काठमाडौंमा लेखकहरूको संघमा ‘प्रलेक’ उर्फ प्रगतिशील लेखक–कलाकार संघको तदर्थ समिति गठन गरियो । र, केन्द्रवासी लेखकहरूका कृपाले म मोफसलवासी लेखक पनि त्यसमा राखिएँ । प्रगतिशील लेखक संघको जन्म श्यामप्रसादको अगुवाइमा भएको थियो, २००९ सालमा । सत्र सालमा तानाशाह महेन्द्रको फौजी आखेटमा परी त्यो संघ अनस्तित्वमा विलीन भयो । साहित्यलाई जनमुखी, जनजागरणकारी र विप्लवी रङ दिन त्यो संघ चिन्तनशील, रचनाशील र उपयोगी होला भनी म ठान्थेँ । त्यसैले त पछि, छयालीस सालपछि म प्रलेकबाट फेरि पुरानै औतारमा फर्किएको प्रलेसको महासचिव भइटोपलेँ ।
श्यामजीको नेतृत्व प्राप्त प्रलेस चिन्तन, मन्थन र सिर्जनाको जीवन्त एवं स्पन्दशील मञ्च होला भन्ने मेरो भावुक अपेक्षा थियो । तर, व्यवहारमा भयो त्यो कम्निस्ट पार्टीहरूका पोलिटब्युरोको गोटी र गुटबन्दीको अखडा । पहिले जुन कारणले चौथो महाधिवेशनबाट म भागेको थिएँ, त्यही कारणले प्रलेसबाट पनि म भागेँ । जहाँ चिन्तन र सिर्जनशीलतामाथि नियन्त्रण, बन्धन र वर्जना हुन्छ, त्यहाँ स्वतन्त्र अभिव्यक्ति नोकरशाहीको कमारो बन्छ । त्यसैले त प्रलेसबाट मैले टाप कसेँ । र, लाल नोकरशाहीको प्रमाणपत्रप्राप्त प्रगतिशील लेखक म रहिनँ ।
साहित्यिक अभिव्यक्तिको शैशवकालमा अलि दिन मैले कवि बन्ने अभिनय गरेँ । कविताले जीवनलाई बुझ्ने र जगत्लाई कवितामा राख्ने मेरो भावुक चेष्टा थियो त्यो । तर छिट्टै नै मलाई महसुस भयो– मेरो पाङ्दुरे कविताले गरिखाँदैन । त्यसपछि म रुन्चे कथाकार भएँ । आरम्भिककालका मेरो कथामा गरिपगुरुबा र दीन–दु:खीप्रति अश्रुप्रवाह छ । ती कठैबराको भाकाका कथाहरू हुन् । ती अनुसारकमार्गी (कन्फर्मिस्ट) साहित्यिक मार्काका कथा हुन् ।
देउवाकृत सङ्कटकाल र ज्ञानशाहीकृत फौजीतन्त्र मेरो अभिव्यक्तिका अविस्मरणीय क्षणहरू हुन् । स्वतन्त्र अभिव्यक्तिमाथि जब निरङ्कुश तरबार उठ्यो, व्यङ्ग्य र कटाक्षका माध्यमले प्रतिकात्मक अभिव्यक्ति दिन कुन्साङ काकाको जायजन्म भयो ।
पछि लालविचारसँगको उठबससँगै मेरो अभिव्यक्तिमा रुमानी क्रान्तिचेत भरिँदै गयो । सार्थक लेखन प्रयोजनपरक हुन्छ भन्ने चेत ममा जब खुल्यो, मेरो अभिव्यक्तिले नयाँ औतार धारण गर्यो । यो विभेदकारी जगत् नारकीय छ, र यो जगत्मा आमजनजीवन दारुण दशामा छ । यो जगत्लाई क्रान्तिको माध्यमले योभन्दा राम्रो र जिउन लायकको बनाउन सकिन्छ । मेरो अन्तरजगत्मा जब यो धारणा र विश्वास जागृत भयो, त्यसउप्रान्त मेरो अभिव्यक्ति यसै प्रयोजनप्रति समर्पित भयो । आख्यान पनि गैरआख्यान पनि । लालित्ययुक्त साहित्य पनि, अखबारी कोरा गर्जन पनि ।
चालीस सालमा शाही सत्ताका श्वानहरूबाट लखेटिएर चितवनबाट म काठमाडौं आएँ । र, त्यो अपेक्षाकृत खुला परिवेशमा मेरो लेखनीले अखबारमा पाइला टेक्यो । तिनताक कम्निस्टहरूका स–साना वृत्त या कुण्डहरू थिए । कुण्डभित्रै नभए पनि म चौथो महाधिवेशन नामक कुण्डको नजिक थिएँ । काशीमा चौथो महाधिवेशनले मेरो अभिव्यक्तिमाथि कोर्रा लगाउनाले म त्यसको सदस्य भइनँ । तर, हित्तचित्त मिलेका मेरा साथीसङ्गी त्यही कुण्डमा थिए । निर्मल लामा त्यहीँ थिए । निनु चापागाईं त्यहीँ थिए । पारिजात दिदी त्यतै कतै थिइन् । चौथो महाधिवेशनको ओत लागेको वेदना पत्रिका त्यही कुण्डको छातामुनि थियो । त्यसैले म निकै पछिसम्म त्यही कुण्डको सेरोफेरोमा घुमिरहेँ ।
त्रिचालीस सालमा होला, काठमाडौंमा ‘गर्जन’ भन्ने चौममुखी एउटा साप्ताहिक निस्कियो । म त्यसमा लेख्न थालेँ । त्यसपछि मैले ‘मूल्याङ्कन’ साप्ताहिकमा लेखेँ । त्यो बेला मेरो चिन्तन र लेखनको घेरा साँघुरो थियो । र, स्वभावतः मेरो दृष्टिक्षितिज पनि साँघुरै थियो । जगत् जान्दछ, त्यो बेला कांग्रेस र कम्निस्टको पानी बाराबारको तिक्त नाता थियो । चित्तको भित्री कुनामा कांग्रेसका लागि कम्निस्टभन्दा राजा प्रिय थियो होला । कम्निस्टका लागि त मुखर रूपमै कांग्रेसभन्दा राजा प्यारो थियो । र नै त थेगोसरि भनिन्थ्यो– कांग्रेस दिल्लीको दलाल हो । बीपी कोइराला गोटीको दलाल हो, र हो यो खसोखास दिल्लीमुखी लेण्डुप दोर्जे ।
कांग्रेसलाई माटोको माया छैन । तर, राजा हुन माटो चाहिन्छ । त्यस हदसम्म राजा देशभक्त हो । त्यस हदसम्म ऊ राष्ट्रवादी हो । जस्तो झुण्ड, उस्तै त्यो झुण्डको एकल जीव । हो, म पनि त्यो बेला राष्ट्रवादी थिएँ । मेरा राष्ट्रवादका प्रेरणास्रोत दुईवटा थिए । एउटा, कम्निस्टको कांग्रेसप्रतिको घृणा र राजाप्रतिको मोह । अर्को, महेन्द्रीय शिक्षाले ठोकी–ठोकी मेरो दिमागमा कोचेको नस्लीय राष्ट्रवाद । ‘यो हाम्रा साना दुःखले आर्ज्याको मुलुक होइन’को शाहवंशीय राष्ट्रवाद । ‘आकाशमा चन्द्र–सूर्य रहुञ्जेल शाह वंश अजर–अमर रहनेछ’को मूढमति राष्ट्रवाद । तिनताकका मेरा कतिपय लेख–रचना पढेर मधेसका बागी मित्रहरू अझै पनि मलाई गिज्याउँछन्– त्यो बेला तिमी त गतिलै राष्ट्रवादी थियौ नि ! निकट अतीतका खड्गप्रसाद ओलीभन्दा करिब दुई–तीन इन्च तलका राष्ट्रवादी ।
अभिव्यक्तिको अविच्छिन्न यात्रामा छयालीस सालमा मेरो जीवनमा विचित्रको घटना घट्यो । विल्कुल अकल्पनीय र अनपेक्षित । राजतन्त्रलाई परालका त्यान्द्राले बाँधेर संवैधानिक बनाइयो । यतिसम्म त अपेक्षित नै थियो । अब उप्रान्त लेखिने शब्दमा कत्ति पनि सेन्सर हुने छैन भनी संविधानमै उद्घोष गरियो । मेरो लागि त्यो अकल्पनीय कुरा थियो । एकदम स्वप्नवत्, एकदम अद्भुत ! म कठोर परम्पराको अधीनमा, पितृसत्ताका उत्तराधिकारी बाको अधीनमा, गुरुकुल टाइपको विद्यालयको अधीनमा हुर्केको मानिस । यी अनेक अधीनस्थताको चार किल्लाभित्रको मानसिक कैदी म । म पञ्चायती नियन्त्रणको खोरमा हुर्किएको मानिस । मलाई बिनासेन्सर, बिनाकालो पोताइ, बिनाछेकथुनको अभिव्यक्ति पनि हुन्छ भन्ने नै लाग्दैनथ्यो ।
परम्परा वा सत्ताद्वारा थोपरिने सेन्सरसिप लेखकमाथि बाह्य शक्तिको क्रीडा हो । त्यो देखिन्छ, त्यो बुझिन्छ । र, आफ्नो निष्ठाप्रति दृढ विश्वास छ र मृत्युको भय भयावह छैन भने डराउँदै भए पनि त्योसँग लड्न र आफ्नो निष्ठामा अड्न सकिन्छ ।
सत्ताको क्रूर छायामा जिन्दगीमा जेको कहिल्यै अनुभूति भएको छैन, त्यो यसरी होला भनेर मैले कसरी कल्पना गर्नु ? आनन्दमय विस्मयको भावमा मैले आफैँलाई सोधेँ– भाइ, यो जगत्मा सरकारी सेन्सरशून्य अभिव्यक्ति पनि हुन्छ ? तर, त्यो भयो । त्यो पनि मेरै जीवनमा । त्यो उन्मुक्त परिवेशका मेरा अखबारी व्यङ्ग्य र कटाक्ष एवं क्रन्दन र गर्जनहरू ‘जनआन्दोलनका छर्राहरू’ नामक पुन्टे पुस्तिकामा सँगालिएका छन् । त्यो पुन्टे पुस्तिकामाथिका दुईवटा प्रतिक्रियाको मलाई अझै सम्झना छ ।
नेपालप्रेमी बेलायती विद्वान् माइकल हटले पारिजात दिदीसँग भनेछ्न्– ‘संग्रौलाले त साह्रै कडा लेखेछन् नि दिदी ।’
‘हैन, तिनले के लेखेछन्, माइकल ?’
तिनले त दिदी, ‘चाँदनी शाह र चाँदीका टुक्रा’ लेखेछन् ।
अलि वर्षपछि डाक्टर भनिन नरुचाउने डाक्टर प्रत्युष वन्तले ‘जनआन्दोलनका छर्राहरू’ समकालको पढ्नैपर्ने एउटा पुस्तिका हो भनेर छापामा मलाई फुर्क्याए । त्यो पुन्टे सँगालोमा कथनको नवीनता, चिन्तनको सघनता, अभिव्यक्तिको परिष्कार वा सिर्जनाको आकर्षण वास्तवमा केही नै छैन । तथापि त्यसमा एउटा चीज अवश्य छ । बन्धित अभिव्यक्ति निर्बन्ध, सेन्सरमुक्त भएपछि बन्धनमुक्त मानिसमा जुन उमङ्ग पैदा हुन्छ, त्यसमा त्यसको छनक पाइन्छ । मलाई लाग्छ, त्यो पुन्टे सँगालोको थोरै महत्ता त्यसैमा छ ।
राजतन्त्र संवैधानिक भयो त भनियो, तैपनि मलाई त्यससँग डर लाग्न छाडेन । डन्ठे पुलिस देख्यो कि मलाई डर लाग्थ्यो । शाही सैनिक देख्दा त झण्डैजसो मेरो सातै जान्थ्यो । ती सत्ताका दमनकारी उपकरण थिए । तर तीसँग डराउँदै भए पनि मैले सत्य बोल्ने यत्न गरिरहेँ । म एक आवेगी जीव हुँ– आफ्नो चित्तले खाएको निष्ठाप्रति समर्पित । हस्तक्षेपकारी क्षणमा म प्रायः उत्ताल आवेगद्वारा वशिभूत हुन्थेँ । त्यसो त अहिले पनि हुन्छु । त्यसैले लेख्दाको घडीमा म परिणामको किञ्चित् पर्वाह गर्दिनथेँ । अहिले पनि गर्दिनँ । तर, मेरो अभिव्यक्ति जब छापिएर आउँछ, कहिलेकाहीँ त आफ्नै कर्मसँग आफूलाई डर लाग्छ । तर, त्यो मेरो क्षणभङ्गुर डर हो । त्यो हठात् आउँछ, र त्यो खुरुक्क जान्छ । लेख्दाको घडीमा फेरि उही कुरा दोहोरिन्छ । उही उत्ताल आवेग, परिणामप्रति उही विल्कुल बेपर्वाह । पहिले, मेरो अभिव्यक्ति बाहिर सार्वजनिक भएपछि शान्त मनोदशामा श्रीमतीका अनुहारको आतङ्कित भाव पढ्दा म भित्रभित्रै हल्लिन्थेँ । भावुक हुँदै म सोच्थेँ– ममाथि आश्रित दुई कलिला चिचिला छन् । कदाचित् मेरो जीवन बीचैमा तलमाथि पर्यो भने तिनको भविष्य के होला ? म श्रीमतीको अनुहारमा यही चिन्तातुर भाव पढ्थेँ । तर, लेख्दाको घडीमा फेरि उही पुरानै कुरा दोहोरिन्थ्यो । उही उत्ताल आवेग, परिणामको उही विल्कुल बेपर्वाह ।
परम्परा वा सत्ताद्वारा थोपरिने सेन्सरसिप लेखकमाथि बाह्य शक्तिको क्रीडा हो । त्यो देखिन्छ, त्यो बुझिन्छ । र, आफ्नो निष्ठाप्रति दृढ विश्वास छ र मृत्युको भय भयावह छैन भने डराउँदै भए पनि त्योसँग लड्न र आफ्नो निष्ठामा अड्न सकिन्छ । तर सेल्फ सेन्सरसिप ? यो भने औधी खतरनाक छ । यसका कारण मूलतः दुईवटा छन्– भय र प्रलोभन । जहाँ भय हुन्छ, त्यहाँ प्रलोभन हुन्छ । जहाँ यी दुई तत्त्वले आलोचनात्मक विवेकलाई दमित तुल्याउँछन्, त्यहाँ मानिस कु्रा चपाउन र कुरा लुकाउन थाल्छ । ऊ तुच्छ स्वार्थको तुलोमा शब्दहरू तौलिएर लेख्न थाल्छ । उसका दुईवटा जिब्रा हुन्छन्, एउटा राख्ने, अर्को फार्ने । उसको चिन्तन र चरित्रमा ढोङका पत्रपत्र हुन्छन् । र, ऊ अरुलाई मात्र होइन, आफैँलाई समेत ढाँट्दै हिँड्छ ।
०००
बाउन्न साल आयो र नेकपा माओवादीको ‘जनयुद्ध’ सुरु भयो । माओवादी ‘जनयुद्ध’ सत्ताका लागि प्रेसको घाँटीमा सुर्काने कस्ने अलिकता कारण बन्यो, अलिकता निहुँ बन्यो । र, मुक्त अभिव्यक्तिको शैशवकालीन उमङ्गमाथि सत्ताको तरबार नाच्न थाल्यो । माओवादी विद्रोहलाई सत्ताले झर्रो प्रशासनिक समस्या ठान्यो । त्यसको सामाजिक, आर्थिक र सांस्कृतिक आधार र कारण होला कि भनी त्यसले रत्तिभर सोचेन । र, मिडिया, मूलधारे ढ्याके मिडिया, जसोजसो बाहुन बाजे उसैउसै स्वाहाको बाटोमा लहसिए । स्वतन्त्र भनिने मिडिया झण्डैजसो सत्ताको अविवेक र अन्धवेगमा विलीन भए । सत्ताका नजरमा माओवादी गतिविधिलाई असामाजिक अतिवाद मानियो । मिडियाले आँखा चिम्लेर सोही रागको रटना गरे । र, जालझेल, कपट, षड्यन्त्र र बन्दुकको बलले माओवादी विद्रोहलाई ठीक पार्ने लुते धन्दा सुरु भयो ।
मेरो उपन्यास जुनकिरीको सङ्गीतमा जनवादी हुँ भन्ने माओवादीको जनविरोधी कार्यशैलीमाथि स्यानो कटाक्ष गरिएको छ । माओवादी नेतागणलाई त्यो असह्य भयो । कमरेड किरणले जुनकिरीको सङ्गीतलाई लामखुट्टेको भुनभुनको संज्ञा दिए ।
यथास्थितिवादी सत्ताले माओवादीलाई आतङ्ककारी घोषित गर्नु बुझिने कुरा हो । त्यो सत्ताद्वारा गैरन्यायिक हत्याको शृङ्खलाको मञ्चन गरिनु पनि बुझिने कुरा हो । पक्राउ, यातना र बेपत्ताको निर्मम सिलसिला पनि बुझिने कुरा नै हो । तर, मिडियाले सत्ताका यी सबै आततायी कृत्यहरूको मौन वा मुखर समर्थन गर्नुचाहिँ उसको घोषित प्रतिबद्धता र धर्मविपरीत कुुरा हो । तर, जे नहुनु थियो, भयो त्यही नै । मिडियाले आफ्नो प्रतिबद्धता बिर्से र आफ्नो धर्म छाडे ।
माओवादीका बातमा वा बहानामा फौजी शिविरद्वारा मानिस पक्राउ पर्छ । मिडियाले त्यो देख्छन्, तर बोल्दैनन् । फौजी शिविरमा दारुण यातनाको हल्ला चल्छ । मिडियाले त्यो हल्ला सुन्छ, तर बोल्दैनन् । बन्दी बेपत्ता पारिएको समाचारले सिङ्गो शहर काँप्छ, तर मिडियाले प्रायः सोधखोज गर्दैनन्, हस्तक्षेप केही गर्दैनन् । मिडियाका दृष्टिमा मानौँ, माओवादी सरासर आतङ्ककारी हो– असामाजिक र मानवद्रोही । त्यसैले, न्यायिक विधिले होस् या गैरन्यायिक विधिले, त्यो मारिन लायक छ । स्वतन्त्र अभिव्यक्तिका लागि भयानक सकसको याम थियो त्यो । ढ्याके मिडिया नै आततायी सत्ताको उन्मादमा विलीन भएपछि सत्ता नामक भीमकाय अजिङ्गरविरुद्ध कोे बोल्न सक्छ ? यदाकदा कन्दै कान्तिपुर बोल्यो, तर त्यो बोली केवल अरण्य रोदनतुल्य भयो । कान्तिपुरका पातामा जो बोले, ती सत्ताको आखेटमा परे । ती कोही भूमिगत भए, कोही विदेश भागे । सत्तापक्ष त यसै पनि निरङ्कुश र आततायी हुने नै भयो ।
संकटकालमा जनताका आँखा, कान र जिब्रो बन्ने धर्म थाम्नुपर्ने प्रतिपक्ष एमालेले सत्तासामु लम्पसार परेर देउवाकृत सङ्कटकाललाई घरी घरी काँध थाप्यो । अनि धन्दाजीवी मानवअधिकारवादीहरू नि ? तिनले पनि मौनभावमा र सभक्ति दमनकारी सत्ताका पाइला पछ्याए । झोलामा आतङ्ककारीको टाउको लिएर आउनू, र त्यो झोलाभरि रकमको बिटो लिएर जानू– सत्ताले यसरी फर्मान जारी गर्यो । कुनै पनि धन्दावाल मानवअधिकारवादीले यो फर्मान गैरन्यायिक हो भनेनन् । यो अमानवीय हो भनेनन् ।
माओवादी र सत्ताबीचको भीषण घर्षणकालमा स्वतन्त्र अभिव्यक्तिप्रतिको चरम असहिष्णुतामा माओवादी राज्यको कडा प्रतिस्पर्धी बन्यो । मेरो चिन्तन र कर्मको तारिफ गर, मेरो जयगान गर, मेरो महिमा मण्डन गर– त्यो सब ठीक छ । मेरो चिन्तन र कर्मप्रतिको आलोचना, व्यङ्ग्य र कटाक्ष सर्वथा बेठीक छ । जो त्यो गर्छ, त्यसको चर्मछेदन हुन्छ । यो विद्रोही माओवादीको अकथित् फर्मान हो । नभन्दै माओवादीले धेरैको त चर्मछेदन गरेरै छाड्यो । थाहा छैन, मेरो चर्मचाहिँ कसरी जोगियो ।
मेरो उपन्यास जुनकिरीको सङ्गीतमा जनवादी हुँ भन्ने माओवादीको जनविरोधी कार्यशैलीमाथि स्यानो कटाक्ष गरिएको छ । माओवादी नेतागणलाई त्यो असह्य भयो । कमरेड किरणले जुनकिरीको सङ्गीतलाई लामखुट्टेको भुनभुनको संज्ञा दिए । त्यहाँसम्म कुरो ठीकै थियो । कमसेकम शब्दको प्रतिवाद शब्दले गरिएको थियो । तर, कमरेड अध्यक्ष प्रचण्डले आफैँ लेखेर वा कुनै भक्तलाई लेख्न अह्राएर ममाथि भौतिक कारबाहीसमेत हुन सक्ने फर्मान जारी गरे । जुनकिरीको सङ्गीत शब्दमा लेखिन सक्ने सबैभन्दा कुरूप चीज हो भन्ने उनको निचोड थियो । १२ बुँदेको फड्के तरेर, सत्तामा उक्लेर, लाभका पद भोग गरेपछिको त्यही माओवादीको अहिले के गति छ ? ऊ बढ्ता पुस्तक पढ्ने मान्छे बौलाउँछ भन्न थाल्या’छ त ! यो त पुस्तकविरोधी, ज्ञानविरोधी, प्रज्ञाविरोधी हुङ्कार होइन र ?
ज्ञानशाही दमनकालमा भने मूलधारे मिडियाको भूमिका फरक भयो । प्रारम्भमा जब सम्पादकीय टेबुल मिसिनगनधारी फौजीको कब्जामा पर्यो, मिडिया किंकर्तव्यविमूढ भयो । तर शनैशनैः पहिले प्रतिकात्मक भाकामा, पछि मुखर स्वरमा मिडिया बोल्न थाल्यो । अलि दिनपछि त मिडिया ज्ञानशाहीतन्त्रमाथि अरिङ्गालको बिच्केको गोलोझैँ झ्वाम्मै खनियो ।
देउवाकृत सङ्कटकाल र ज्ञानशाहीकृत फौजीतन्त्र मेरो अभिव्यक्तिका अविस्मरणीय क्षणहरू हुन् । स्वतन्त्र अभिव्यक्तिमाथि जब निरङ्कुश तरबार उठ्यो, व्यङ्ग्य र कटाक्षका माध्यमले प्रतिकात्मक अभिव्यक्ति दिन कुन्साङ काकाको जायजन्म भयो । समयको कथा कहन खोज्ने काकाले डराउँदै भए पनि बेलाको बोली बोल्ने चेष्टा गर्यो । जब ती दिन सम्झन्छु, भय र उमङ्गमिश्रित विचित्रभावले म त्यसैत्यसै द्रवित र पुलकित हुन्छु । साभार :शिलापत्र