Thursday, December 11, 2025

मेयरको ‘झोले पत्रकार’ अभिव्यक्तिपछि महासंघसहित पत्रकार संगठनहरुको आपत्ति


परासी, बैशाख २८। नवलपरासी सुनवल नगरपालिकाकी मेयर विमला अर्यालले पत्रकार र पत्रकारिता क्षेत्रलाई तुच्छ बनाउने गरी सामाजिक सञ्जालमा अभिव्यक्ती दिएको भन्दै पत्रकार महासंघसहित जिल्लाका पत्रकार संघ संगठनहरुले आपत्ति जनाएका छन् ।


मेयर अर्यालले सामाजिक सञ्जालमा ‘सत्य तथ्य नबुझी लेख्ने झोले पत्रकार’ भन्दै आएको धारणामा नेपाल पत्रकार महासंघ जिल्ला शाखा, नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपालले गम्भिर ध्यानाकर्षण भएको जनाउँदै आपत्ति जनाएका हुन् ।


मेयर अर्यालले आफ्नो फेसबुक पेजमा सञ्चारमाध्यममा आएका समाचारलाई इङ्गित गर्दै ‘उपियाँको खोज अनुसन्धानमा पिएचडी गरेका विद्धानलाई गाईको बारेमा लेख लेख्न दिइएको’ भन्ने स्ट्याटस लेखेकी थिइन् । उक्त स्ट्याटसमा विभिन्न व्यक्तिहरुले समाचारमा आएका विषयलाई उल्लेख गरेर नगरबासीको आवश्यकताभन्दा जनप्रतिनिधिको सुविधालाई ध्यान दिई काम गरेकोे भन्दै मेयरको आलोचनासहित कमेन्टमा टिप्पणी गरेका थिए । सोही आलोचनाको टिप्पणीमा प्रतिकृया दिदैं मेयर अर्यालले पत्रकार र पत्रकारितालाई तुच्छ देखाउँदै ‘सत्य तथ्य विषय ल्याउने उत्कृष्ट पत्रकारलाई यत्रो आरोप, अरु सत्य तथ्य नबुझी लेख्ने झोलेहरुलाई कुनै प्रश्न छैन किन ?’ भन्ने धारणा लेखेकी थिइन् । उक्त शब्दले पत्रकारिता क्षेत्र र समग्र जिल्लाका पत्रकारहरुलाई होच््याउने कार्य गरेको भन्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष केशव पराजुली र सचिव अनिल यादवद्धारा जारी विज्ञप्तीमा मेयर अर्यालयको अभिव्यक्ति प्रति आपत्ति जनाइएको छ ।


पत्रकारले लेखेको वा सञ्चारमाध्यमहरुमा आएका समाचार प्रति चित्त नबुझे उक्त सञ्चारमाध्यममा खण्डन गरी आफ्ना भनाईहरु राख्ने, त्यसमा चित्त नबुझे कानूनी प्रकृयाअनुसार कारबाही प्रकृया अघि बढाउने विधि र नियम हुँदाहुँदै नगर प्रमुख जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले सामाजिक सञ्जालमा त्यस्ता अभिव्यक्ति नदिन पनि महासंघले सचेतसहित विज्ञप्तीमार्फत आग्रह गरेको छ ।


त्यसैगरी नेपाल प्रेस युनियनका अध्यक्ष उमेश विकद्धारा जारी विज्ञप्तीमा ‘नेपाली पत्रकारिता र पत्रकारले कसैबाट प्रशंसाको अपेक्षा गरेर समाचार लेख्दैन र प्रेस स्वतन्त्रताविरुद्धका अभिव्यक्ति र गतिविधिलाई पनि सहेर बस्दैन त्यसैले मेयर अर्यालको उक्त शब्द आपत्ति जनक रहेकाले त्यसलाई सच्चाउन माग गरिएको उल्लेख छ ।


प्रेस सेन्टरकी अध्यक्ष विष्णु खनाल भण्डारीले पनि विज्ञप्ती प्रकाशित गर्दै नगर प्रमुख जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले पदिय मर्यादाको ख्यालै नगरी व्यक्त गरिएको उक्त शब्द प्रेस विरोधी अभिव्यक्ति भएको ठहर गर्दै आपत्ति जनाइएको छ ।


मेयर अर्याल एमालेबाट निर्वाचित हुन् । यसैबीच प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष गौरीशंकर जयसवालले समग्र प्रेस र पत्रकारलाई होत्तोत्साहित गर्ने उद्देश्यले मेयर अर्यालले अभिव्यक्ति दिएको भन्दै उक्त शब्दप्रति आपत्ति जनाएका छन् ।


पछिल्लो समय नगरपालिकाकाले दमकलको आवश्यकता हुँदा हुँदै अर्थमन्त्रालयको परिपत्रविपरीत १ करोड ३० लाखमा दुई वटा स्कारपियो गाडी खरिद गरेको, विदेशमा बसेका जनप्रतिनिधिहरुलाई सेवा सुविधाबापतको रकम बैंक खातामा पठाएकोलगायत जनप्रतिनिधिहरुलाई जनताप्रति उत्तरदायित्व बनाउने उद्देश्यसहितका सामाचारहरु सञ्चारमाध्यमहरुमा आएपछि मेयर अर्याल पत्रकारहरुसँग रुष्ट छिन् । भने सामाजिक सञ्जालमा सुविधा मोह भएको भन्दै मेयरसहितका जनप्रतिनिधिहरुको चर्को आलोचना हुँदै आएको छ ।

- Advertisement -
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
सम्बन्धित समाचार