काठमाडौं, जेठ ६ । मालपोत कार्यालय, टीकापुर कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसइलीसहित आठ जनाविरुद्ध २४ करोड छ लाख ६९ हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर गरिएकाे छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार कैलाली, साविक नारायणपुर–८ अन्तर्गतको कित्ता नम्बर ९०८ को क्षेत्रफल १५–०–० ज.बि. (बिघा) जग्गा फिल्डबुकमा जङ्गल भनी कायम भएकोमा कित्ताकाट गरी मालपोत कार्यालय, टीकापुरबाट २०६८ सालमा व्यक्तिको नाममा कायम गरेको अनुसन्धानबाट खुलेको हो।
फिल्डबुकमा जङ्गलको सरकारी सार्वजनिक प्रकृतिको जग्गाबाट कित्ताकाट गरी व्यक्तिको नाममा कायम गर्ने कार्यमा संलग्न कर्मचारी र उक्त जग्गा आफ्नो नाममा गराउने व्यक्तिलाई कारवाही हुने भन्ने उजुरी परेपछि अनुसन्धान गर्दा रसाइलीसहित नायब सुब्बा अग्नीबहादुर शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हाे।
सरकारी सार्वजनिक जग्गा विन्द्रा रावल, कमलबहादुर रावल, सुशील बहादुर रावल, विमलबहादुर रावलको संयुक्त नाममा स्रेस्ता पूर्जा कायम गरी हस्तान्तरण गरिएकाे र पछि उक्त जग्गाको दर्ता स्रेस्तासम्बन्धी सम्पूर्ण कागजात कार्यालयको अभिलेखबाट समेत नष्ट गरेको पुष्टि भएर आर्थिक वर्ष २०८०÷८१ को मालपोत कार्यालय टीकापुरको न्यूनतम मुल्याङ्कन पुस्तिकामा उल्लिखित २४ करोड छ लाख ६९ हजार रुपियाँ सार्वजनिक सम्पत्तिको हानिनोक्सानी पुर्याएको आयोगको विज्ञप्तिमा उल्लेख छ। गाेरखापत्र दैनिक अनलाइन https://gorkhapatraonline.com/news/108547