काठमान्डाैं, असार १९ । नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नयाँ सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बुधबार बिहान बसेको बैठकले नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको समझदारी अनुमोदन गर्दै सो निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।
बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गरेको हो । यसअघि नेकपा एमालेले पनि प्रधानमन्त्रीलाई राजीनामा दिन आह्वान गरेकाे थियाे ।
उहाँले समझदारीअनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र दोस्रो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताउनु भएकाे हाे । उहाँले स्थायित्व दिन कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति भएको बताउनु भयाे ।