परासी, चैत्र १ । सरावल गाउँपालिका—६ पुसौलीको एक मदरसामा पोशाक वितरण गरिएको छ ।
ईस्लामिक सहयोगी समाजको सहयोगमा मदरसा कादरीया नुरुल उलुममा पोशाक वितरण गरिएको हो । प्राथमिक तहमा अध्ययनरत ८० जना विद्यार्थीहरुलाई कुर्ता र सुरवाल वितरण गरिएको प्रधानाध्यापक समसाद अन्सारीले बताउनु भयो । मदरसामा अध्ययनरत विद्यार्थीहरुलाई प्रोत्साहन हुने र सबै विद्यार्थी नियमित मदरसाको पोशाकमा आउन सहयोग हुने अपेक्षा गरिएको छ । पोशाक वितरण गर्नका लागि आयोजना गरिएको कार्यक्रममा मदरसाका व्यवस्थापन समितिका अध्यक्ष मोबिन जोलहा, ईन्ताफ अलि, रज्जाक गुज्जर, अकिकुन नेशा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
रोजगारीका सिलसिलामा विदेशमा रहेका जिल्लाका केही युवाहरुको सहयोगमा ईस्लामिक सहयोगी समाजले विभिन्न सामाजिक कार्य गर्दै आएको समाजका संयोजक क्यामुद्दिन अलिले जानकारी दिनुभयो ।
