सुर्खेत, भदौ १४ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले भ्रष्टाचार र बेथितिलाई जोगाउँदै सरकार अगाडि बढे सदन र सडकबाट प्रतिवाद गरिने बताउनुभएको छ ।
शुक्रबार कर्णाली प्रदेशकाे सुर्खेतमा पार्टीको परामर्श बैठकलाई सम्बोधन गर्न आउनुभएको प्रचण्डले विमानस्थलमा पत्रकारहरुसँग भेटघाटमा यस्तो धारणा राख्नुभएको हो । उहाँले पछिल्लो समय सरकार निर्माण, कसको चाहनामा र कसरी भयो भन्ने हरेक घटनाक्रममा जनता प्रष्ट रहेको उल्लेख गर्नुहुँदै अघिल्लो सरकारले अघि बढाएको भ्रष्टाचारमाथिको छानविनलाई सामसुस पार्ने खेल भइरहेकाले यसविरुद्ध सदन र सडकबाट आवाज घनिभूत गराउने बताउनुभयो ।
अहिले सदनबाट सरकारलाई सचेत रहन आग्रह मात्र गरिएका उल्लेख गर्नुहुँदै उहाँले सच्चिने होइन भने सदन र सडक दुबै ठाउँबाट आन्दोलन अघि बढाउने बताउनुभयो । सरकार पहिलो र दोस्रो दल मिलेको संसारमको संसदीय इतिहास नभएको उल्लेख गर्दै उहाँले गलत कुरालाई चोखाउनका लागि गरिएका सबै खालका क्रियाकलापको साक्षी भएर माओवादी नबस्ने बताउनुभयो । भदौ ११ मा आफूले संसदमा गरेको सम्बोधनले उत्तेजना र आवेग नभई सरकारका गलत कामको भण्डारफोर गरेको उल्लेख गर्दै उहाँले गलत कामको विरोध गर्न सय दिन नै पर्खनुपर्छ भन्ने कतै नभएको उहाँले स्पष्ट गर्नुभयो ।
अहिले सदनमा चलिरहेको ‘हिंसा’ सम्बन्धी विवादका सम्बन्धमा पत्रकारले सोधेको प्रश्नमा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘‘एमालेका साथीहरुले त्यसरी नबोलेको भए हुन्थ्यो, कुनै समयमा जनयुद्ध र यसका उपलब्धिलाई उहाँहरुले राम्रोसँग ब्याख्या गर्नुभएकै हो । अझ जसले हिंसा भन्ने शब्द प्रयोग गर्नुभयो, उहाँले जनयुद्धको प्रशंसा नै गर्नुहुन्थ्यो । विस्तृत शान्ति सम्झौतादेखि संविधानमा उल्लेख गरिएका शब्दको मर्मभन्दा बाहिर जाने गरी त्यस्ता अभिव्यक्ति नदिन म सम्बन्धित साथीहरुलाई सचेत गराउन चाहन्छु ।’’ स्राेतः गाेरखापत्र अनलाइन