भारतले अनुदानमा दिएको भनिएको मुर्रा राँगोलाई लिएर सामाजिक सञ्जालदेखि संसद्सम्म बहस छेडियो, आलोचना गरियो ।
यसपालि प्रधानमन्त्री प्रचण्डको चारदिने (जेठ १७–२०) भारत भ्रमणका बेला भारतले १५ वटा मुर्रा राँगो दिने भनेको थियो । विपक्षीले यसलाई अनेक विम्ब बनाएर बहस र विरोध जनाए । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले संसद्मा बोले– प्रधानमन्त्री प्रचण्ड भारतबाट दुर्भाग्यवश भैँसी चढेर आउनुपरेको कुराहरू आए । उनका यी शब्द रेकर्डबाट हटाइयो । त्यसपछि पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले दोहोर्याए– अहिले राँगा प्रधानमन्त्रीजीले लिएर आउनुभो, राम्रो भो । …साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा नै हो ।’
संसद्मा यस्ता बहस भए पनि भारतबाट मुर्रा राँगो नेपाल आउन अझै दुई महिना लाग्ने देखिन्छ । कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार, भारतबाट ल्याउनुअघि मुर्रा राँगोको स्वास्थ्य अवस्था लगायत प्राविधिक परीक्षण गरिन्छ । यसका लागि भारत जाने चार सदस्यीय टोली भर्खरै मनोनयन भएको छ, पशु सेवा विभागका महानिर्देशकको संयोजकत्वमा । सो टोली साता–दश दिनभित्र भारत प्रस्थान गर्छ ।
‘नस्ल सुधारका लागि पाँच वर्षअघि नेपालले भारतसँग ३० वटा मुर्रा राँगो माग गरेको थियो,’ प्रवक्ता सञ्जेल भन्छन्, ‘नेपाल–भारतको सहसचिव स्तरीय एउटा समिति छ, त्यस समितिको सन् २०१८ को जुनमा बसेको बैठकले नेपाललाई १५ वटा मुर्रा राँगो दिने निर्णय गरेको हो ।’
पाँच वर्षअघि दिने भने पनि भारतले राँगा पठाउन समय लगायो । आफ्नो देशको राम्रो रैथाने आनुवंशिक स्रोतहरू कुनै अर्को देशलाई दिन कुनै पनि देशले सहज रूपमा मान्दैन । कारण, यो आफ्नो राज्यको पहिचान र सम्पत्ति हो ।