काठमाडौं, चैत्र ४ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा उद्योगपति एवम् सांसद विनोद चौधरीको पनि वयान लिने भएको छ ।
आज गृह मन्त्रालयमा गृहमन्त्री रवि लामिछाने, गृह सचिव एकनारायण अर्याल र सीआईबीका नवनियुक्त प्रमुख श्यामलाल ज्ञवालीसहित बसेको संयुक्त बैठकमा गृहमन्त्रीले वयान लिन निर्देशन दिनु भएकाे गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ । गृहमन्त्री लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकार माहतल ल्याउने प्रक्रिया पनि आजैदेखि सुरु गर्न भन्नुभएकाे छ ।
सीआईबीले बाँसबारी जग्गा प्रकरणमा अनुसन्धानका लागि १८ माघमा अरुण कुमार चौधरीलाई पक्राउ गरेको थियो । तर, २४ माघमा जिल्ला अदालत काठमाडौंको आदेशमा अरुण हाजिरी जमानीमा रिहा भएका थिए । काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले अनुसन्धानमा सहयोग गर्ने गरी हाजिर जमानीमा छाडेर बाँकी अनुसन्धान पूरा गर्न सीआईबीलाई आदेश दिएको थियो ।
यसैविच बैठकमा गृहमन्त्री लामिछानेले सुन तस्करी प्रकरण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न पनि निर्देशन दिनु भएकाे थियाे ।