काठमान्डाैं, साउन ८ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक आज दिउँसो १ बजेबाट सुरु हुनेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त समितिअन्तर्गतको संसदीय सुनुवाइ समितिमा प्रतिनिधिसभा सदस्यहरूको नाम हेरफेर गर्नेछन् ।
त्यस्तै प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर हुनेछ । स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण, कृषि तथा पशुपंक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।
त्यस्तै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
प्रतिनिधिसभा सदस्य प्रतिमा गौतमले डेँगीको प्रकोप तीव्र रूपमा देशभर फैलिइ जनस्वास्थ्य संकट उत्पन्न हुन गई अस्पतालमा गम्भीर अवस्थाका बिरामीहरू भर्ना हुने संख्यामा वृद्धि, समाजमा डर र त्रासको माहौल उत्पन्न भएकोले डेँगीको प्रभावकारी नियन्त्रण एवं भविष्यमा सिर्जना हुने गम्भीर र दीर्घकालीन असर न्यूनीकरण तथा रोकथामको लागि सरकारलाई निर्देशन दिन अपरिहार्य भएकोले भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गर्नेछिन् । shilapatra online