परासी, चैत्र ७ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा भुमिहीन दलित, भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित जग्गाहरुको नापजाँच सुरु भएको छ ।

भुमि समस्या समाधान आयोग नवलपरासी(ब.सु.प.) ले विहिवार एक कार्यक्रममा मार्फत शुभारम्भ गर्दै गाउँपालिका भित्र रहेको उक्त जग्गाहरुको नापजाँच सुरु गरेको आयोगका अध्यक्ष लालबहादुर गुरुङ्गले बताउनु भएको छ । उहाँले भन्नुभयो, तीन जना अमिन र एकजना सर्वेक्षक सहित चार कर्मचारीहरु मार्फत कामलाई सुरु गरिएको छ । प्रतापपुर गाउँपालिकाको वडा नं. ९ बाट सुरु जग्गा नापजाँच सुरु भएको छ । जिल्लाको पाल्हीनन्दन गाउँपालिका बाहेक सुस्ता गाउँपालिका, सरावल गाउँपालिका, रामग्राम नगरपालिका, बर्दघाट नगरपालिका, सुनवल नगरपालिकामा पनि नाँपजाँच छिट्टै सुरु हुने गुरुङ्गले भन्नुभएको छ । पाल्हीनन्दन गाउँपालिकाले त्यस्ता जग्गाहरुको विवरण फारम अहिलेसम्म नबुझाएकाले त्यहाँ पुनः सूचना प्रकाशन गरी फरम भर्न लगाएर विवरण आएपछि मात्रै नापजाँच हुने उहाँले बताउनु भएको छ । सबै वडाहरुमा नापजाँच गर्दैजाँदा हजार पुर्जा तयार हुनै वित्तिकै बाडिहाल्ने तयारी रहेको गुरुङ्गले बताउनु भएको छ ।
प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले गाउँपालिका आजदेखी सुरु गरिएको जग्गा नापचाँचले पालिका भित्रका अव्यवस्थित जग्गाहरुको व्यवस्थित हुने बताउनु भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा भुमि आयोगले नापजाँच सुरु गरेको उहाँले भन्नुभएको छ ।
