त्रिशूली, असोज १४ । नुवाकोटको शिवपुरी गाँउपालिका–७ मा सोमबार ग १ ख ४५३५ नं. माइक्रोबस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । छहरे–टोखा सडक खण्डअन्तर्गत भएकाे दुर्घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।
काठमाडौँबाट नुवाकोट हुँदै पोखरा जाँदै गरेको माइक्रोबस अपरान्ह एक बजे अदुवारीमोडमा अनियन्त्रित हुँदा सडकबाट अन्दाजी ५० मिटर तल पुगेको घटनास्थलमा रहेका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभएकाे छ ।
उहाँका अनुसार उक्त गाडीमा १८ जना सवारमध्ये गम्भीर दुईसहित १२ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।