परासी, फागुन १० । पश्चिम नवलपरासीमा एक लाख बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाईने भएको छ । फागुन १३ गते देखि लगाईने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
पहिलो चरणमा नगरपालिका र दोस्रो चरणमा गाउँपालिकाहरु मा खोप लगाउने तयारी रहेको छ । पहिलो चरणमा फागुन १३ देखि १९ सम्म बर्दघाट, सुनवल र रामग्राम नगरपालिकामा लगाईने र फागुन २१ गते देखि २७ गते सम्म सुस्ता, प्रतापपुर, सरावल र पाल्हीनन्दन गाउँपालिकामा लगाईने स्वास्थ्य कार्यालयका प्रमुख ओम प्रकाश पन्थीले बताउनु भएको छ । जसअनुसार जिल्लामा रहेका ९ महिनादेखि १५ वर्षसम्मका कुल १ लाख ५ हजार ४५९ जना बालबालिकामा खोप लगाइने प्रमुख पन्थीले भन्नु भयो । यो खोपलाई अभियानको रुपमा सञ्चालन गरिने उहाँले बताउनु भयो ।
जिल्लाको सात स्थानीय तहको ३७३ स्थानमा खोप केन्द्र स्थापना गरी खोप लगाउने व्यवस्था मिलाइएको छ । त्यसका लागि ७७७ जना स्वास्थ्यकर्मी र १ हजार ८८ स्वयंसेवक गरी कुल १ हजार ८६५ जना जनशक्तिलाई परिचालन गरिने स्वास्थ्य प्रमुख पन्थीले बताउनु भयो । खोप केन्द्रका रुपमा यसअघि अभियानका रुपमा सञ्चालन भएका खोप केन्द्र,नियमित खोप केन्द्र र स्वास्थ्य संस्थालाई तोकिएको छ ।
सरकारले दादुराबाट उच्च जोखिममा रहेका काठमाडौं र तराई जिल्लामा रहेका ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई यो रोगविरुद्धको खोप लगाउँदैछ । बाँकी जिल्लामा रहेका ९ महिनादेखि ५ वर्षसम्मका बालिबालिकालाई उक्त खोप लगाउन अभियान नै सञ्चालन गरेको छ । सरकारले सन २०२६ सम्म दादुरा–रुबेला रोगको निवारण र पोलियो उन्मूलन गर्ने लक्ष्य लिएको छ ।