अनिल यादव, परासी, मंसिर १७। पश्चिम नवलपरासीको पण्डितपुरमा प्राचीन सहरको विशेषताहरु भेटिएको छ । रामग्राम नगरपालिका वडा नं. १८ मा रहेको पण्डितपुरमा गरिएको जियोफिजिक्स (भूभौतिक सर्वेक्षण) मा कोलिया गणराज्यको एउटा महत्वपुर्ण सहर देखापरेको छ ।
पुरातत्व विभागको आर्थिक सहयोग र दुर्हम विश्वविद्यालयको प्राविधिक सहयोगमा एक हप्ता सम्म गरिएको सर्वेक्षणमा कोलिया गणराज्यको प्राचीन सहरहरुको विशेषताहरु संकेत गरेको पुरातत्व विभागका पुरातत्व शाखाका प्रमुख भाष्कर ज्ञवालीले बताए । पण्डितपुरमा गौतम बुद्धको मावली क्षेत्र (कोलीय गणराज्यको क्षेत्र) रहेको भन्दै विभिन्न समयमा सर्वेक्षण हुँदै आएको छ । उक्त सर्वेक्षणका क्रममा फेला परेका संरचनाका आधारमा पण्डितपुर कोलीय गणराज्यको एउटा सहर हुन सक्ने पुरातत्व विभागका पुरातत्व शाखा प्रमुख ज्ञवालीले जानकारी गराएका छन् । अहिले र पहिलेको सर्वेक्षणलाई अध्ययन गरेर हेर्ने हो भने त्यस क्षेत्रमा गोलाकार आकारमा सहर बसेको आधारहरु देखिएको ज्ञवालीले भनेका छन् । कोलीय गणराज्य अन्तरगत विभिन्न ठाउँमा सहरहरु फैलिएको र ति सहरहरु मध्येको एक सहर पण्डितपुरमा रहेकोे ज्ञवालीले बताएका छन् । त्यहाँ आठौं शताब्दी इसापूर्वको बसोबास रहेको संरचनाले देखाएको छ ।
‘पण्डितपुरमा सहर भएको पुष्टी त भयो तर, कोलीय गणराज्यको राजधानी नै थियो की थिएन भन्नेमा आवश्यक उत्खन्न तथा अनुसन्धन नै गर्नुपर्छ ।’ ज्ञवालीले भने । पण्डितपुरको क्षेत्रफल करिब ५० बिघामा फैलिएको छ । अहिलेसम्म करिब ९० प्रतिशत स्थानमा उत्खनन र भूभौतिक सर्वेक्षण गरिएको ज्ञवालीले बताएका छन् । बाँकी रहेको १० प्रतिशतमा अन्य प्रविधिबाट पनि अनुसन्धान गर्न सकिने ज्ञवालीको भनाई छ । पण्डितपुरमा चार वर्षसम्म सर्वेक्षण तथा अनुसन्धानको काम भएको छ । २०६८÷०६९ देखि २०७३ सालसम्म उत्खनन र २०७६ देखि अहिलेसम्म भूभौतिक सर्वेक्षण गरिएको पुरातत्व शाखा प्रमुख ज्ञवालीले बताए । त्यस बेला फेला परेका संरचनाले पण्डितपुरमा ठूलो प्राचीन सहर रहेको देखाएको थियो । त्यसकै आधारमा अहिले भु–भौतिक सर्वेक्षण गर्दा पर्खाल जस्ता संरचनाहरु देखा परेको छ । भु–भौतिक सर्वेक्षणमा मानिसको शरिर एक्सरे गरे जस्तै जमिनको सतहमुनि रहेको संचनालाई एक्सरे गरेर देखाउँछ ।
यसैविच पुरातत्व विभागका पुरातत्व शाखाका प्रमुख भाष्कर ज्ञवालीले रामग्राम नगरपालिकाले त्यस क्षेत्रको जग्गाहरु लाई सुरक्षित गर्न अनुरोध गरेका छन् । उन्का अनुसार संरचना देखिएको क्षेत्रहरु (जग्गा) मा कुनैपनि पक्की घरहरु तथा धेरै गहिरो खनजोतको काम नगर्न सुझाव दिएका हुन् । नगरपालिकाले पनि कुनै किसिमको भौतिक निमार्णको काम गर्दा पुरातत्व विभागको अनुमति लिएर मात्र काम गर्न पुरातत्व शाखाका प्रमुख ज्ञवालीले नगरपालिकालाई आग्रह गरेका छन् ।